भरतपुरमा ‘बाल उमङ्ग बिमा’ कार्यक्रम
चितवन । भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बिमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बिमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रो पटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो ।
महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलका अनुसार गत आवमा तीन सय ८८ जना र यस आवमा तीन सय ८९ जना बालिकाको बिमा गरिएको छ । भरतपुर महानगरपालिकामा स्थायी बसोबास भएर सरकारी स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरूका लागि यो कार्यक्रम लागू गरिएको हो ।
बालिकाको जन्म भएपछि महानगरले बिमा बराबरको रकम रु ५० हजार बाल उमङ्ग बिमाका लागि प्रदान गर्ने छ । उहाँले भन्नुभयो, “पन्ध्र वर्षे बिमा कार्यक्रम भएकाले हरेक वर्ष नवीकरण महानगरले गर्नेछ ।” पन्ध्र वर्षपछि ती बालिकाले रु एक लाख पाउने उहाँले बताउनुभयो । महानगरपालिकाले यस वर्ष बिमा नवीकरण र नयाँ बिमा गरी रु २५ लाख ७७ हजार आठ सय ६२ बिमा कम्पनीलाई बुझाएको छ ।
महानगरपालिका प्रमुख दाहालले सरकारी अस्पतालमा प्रसूति गर्न आउनेको सङ्ख्या बढाउन र छोरा र छोरीमा हुने विभेद अन्त्यका लागि महानगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । आफू पहिलो पटक प्रमुख हुँदा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाहरूको बहिरङ्ग टिकट निःशुल्क गरेको जनाउँदै उहाँले दोस्रो कार्यकाल प्रमुख भएर आएसँगै छोरी बिमा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “छोरीहरू उच्च शिक्षा पढ्ने समयमा यो बिमाको रकम पाउने भएकाले कोही पनि छोरी शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर नै यो कार्यक्रम ल्याएका हौँ ।”
प्रतिक्रिया राख्नुहोस्