तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षा अधिकृतको निधनप्रति पूर्व प्रधानमन्त्री ओलीद्वारा दुख व्यक्त

भक्तपुर । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजी सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले निरीक्षक थापाको तस्बिर सामाजिक सञ्जालमा राख्दै थापाको निधनले आफु दुखी भएको बताउनुभएको छ ।

ओलीले धेरै नबोल्ने, लजालु स्वभावका र काममा जहिले पनि तम्तयार सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक थापाको निधनको खबरले दुःखी भएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज बाहिरका कुनै पनि कार्यक्रममा सहभागी नभएको तथा हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेशको बिहान निधनको खबर आएको भन्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक थापाको आज बिहान मृत्यु भएको हो । ओलीको बालकोटस्थित निजी निवासमा खटिएका ४२ वर्षीय थापा आफ्नै घर सुर्यविनायक नगरपालिका–७ गुण्डुमा बिहान अचेत अवस्थामा फेला पर्नुभएको थियो ।

प्रहरी निरीक्षक थापा हिजो बेलुका खाना खाएर सुतेको र आज बिहान साढे ५ बजे अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जिल्ला प्रहरी परिसरका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी राजन कार्कीका अनुसार थापालाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उहाँको उपचारका क्रममा अस्पतालले बिहान साढे ६ बजे मृत घोषणा गरेको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको नीजि निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिनुभएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button