मन्त्री भण्डारीद्वारा त्रिपुरेश्वरस्थित उद्योग परिसरमा छड्के अनुगमन
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/IMG-20240527-WA0013-1-1024x768.jpg)
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गर्नुभएको छ ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिसर पुग्नुभएका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गर्नुभएको थियो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/IMG-20240527-WA0020-768x1024.jpg)
सो क्रममा मन्त्री भण्डारीले सेवाग्राहीको प्रतिक्रिया पनि लिनुभएको थियो । सेवाग्राहीले उक्त कार्यालयहरूबाट हुने सेवा प्रवाहका विषयमा मन्त्रीसमक्ष गुनासा सुनाउनुका साथै सकारात्मक कामका विषयमा पनि जानकारी गराएका थिए ।
अनुगमनका क्रममा उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, कम्पनी रजिष्ट्रार दिपक पहाडी, विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख तुलसी मरासनी, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेशकुमार झालगायत कर्मचारीलाई मन्त्री भण्डारीले सेवाग्राहीलाई झन्झटरहित ढङ्गबाट छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/05/IMG_20240527_132753-1024x768.jpg)
सो क्रममा मन्त्री भण्डारीले उद्योग परिसर भित्रका भौतिक संरचनाको समेत अनुगमन गर्नुभएको छ । उहाँले जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारको मर्मत सम्भार गरेर पुनः प्रयोग गर्न सकिने संरचना प्रयोगमा ल्याउन निर्देशन दिनुभयो । साथै उहाँले सार्क हस्तकला केन्द्र स्थापना गर्न भवन व्यवस्थापनका लागिसमेत अनुगमन गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्