तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको एटलान्टामा श्रीमद्भागवत ज्ञानमहायज्ञ सप्ताह आयोजना हुने

काठमाडौँ।  अमेरिकाको जर्जिया राज्यको एटलान्टामा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

नेपाली सांस्कृतिक केन्द्रको आयोजना तथा एन. ए.जी, एन.आर.एन.ए जर्जिया, आइ.एन.एल.एस जर्जिया शाखा तथा डब्लु एच् एफको सहकार्यमा उक्त ज्ञान महायज्ञ आयोजना हुन लागेको संस्थाका महासचिव एवं समाजसेवी सिके पराजुलीले जानकारी दिनुभयो ।

श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ एटलान्टा आध्यात्मिक महोत्सव २०२३ नामाकरण गरिएको उक्त कार्यक्रम आगामी नोभेम्बर ५ देखि ११ तरिकसम्म सञ्चालन हुनेछ ।

आध्यात्मिक उपासनाको पवित्र उद्देश्यका साथ जर्जियामा नेपाली सामुदायिक केन्द्र निर्माण गर्ने समेत लक्ष्यराखि आयोजना गरिएको उक्त ज्ञान महायज्ञमा वाचन प्रवीण दीनबन्धु पोख्रेलले कथा वाचन गर्नुहुने छ ।
उक्त ज्ञानमहायज्ञ कार्यक्रम सँगसँगै सामूहिक बर्तबन्ध, गुन्यूचोली, बेलविवाह, चौराशी पूजा जस्ता कार्यक्रमको पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम ग्लोबल मल दोस्रो तला ५६७५ जिमिकार्टर बिल्डिङ सुईट नं ६९० नरक्रस सहरमा हुने छ ।
समाजका वरिष्ठ समाजसेवीहरु डा : प्रल्हाद पन्त, सिएन घिमिरे र सिके पराजुलीले उक्त कार्यक्रमको अगुवाइ गर्नु भएको छ ।

विदेशी भूमिमा रहेर पनि नेपाली संस्कृति र धर्मको रक्षा तथा संस्कार जगेर्ना गर्न लागि परेको भन्दै कार्यक्रमको चौतर्फी प्रशंसा समेत भएको छ ।

पछिल्लो समयमा नेपालमा पश्चिमा संस्कृतिको वर्चश्व रहँदै गएको र त्यसको सिको गर्न थालिएको परिप्रेक्ष्येमा पश्चिमा देशमै रहेर नेपालको धर्मसस्कृतिको प्रवर्द्धन, संरक्षण र रक्षा गर्न लागि पर्नु निकै गौरवको विषय भएको जानकारहरू बताउँछन् ।

यस्तो कार्यक्रमले विदेशमा रही बिर्सँदै गएको मौलिक संस्कृतिलाई पुन ः ताजकी बनाउने र नेपाल देशको कला, धर्म संस्कृति प्रति आस्थावान् बनाउन मदत गराउने संस्कृतिविदहरुको भनाइ रहेको छ । जुन निकै सराहनीय, र प्रसंशनीय रहेको पनि देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button