सामूहिक धान रोपेर सुनसरीमा मनाइयो राष्ट्रिय धान दिवस
सुनसरी । सुनसरीको दुहबी ९ मा कृषि श्रमको सम्मान गर्दै सामूहिक राष्ट्रिय धान दिवस, २०७९ धान रोपेर दिवस मनाइएको छ ।
दुहबी नगरपालिका कृषि शाखाको आयोजना र श्री राधाकृष्ण किसान विकास समूह दुहबी ९ बेङ्डीको संयोजनमा ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ धान रोपेर १९ औँ राष्ट्रिय धान दिवस मनाइएको हो ।
दुहबी नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि वेदनारायण गच्छदारले कृषिमै नेपाललाई आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याएको भए पनि साना किसानसम्म पुर्याउनुपर्ने बताउनुहुँदै किसानलाई नै उत्पादनको मूल्य तोक्न दिनुपर्ने बताउनुभयो ।
उहाँले नेपाललाई कृषिमा समृद्ध बनाउन सरकारले पकेट क्षेत्र, ब्लक क्षेत्र, जोन र सुपर जोन क्षेत्रको नीति अनुसार अगाडी बढेको भए पनि सबै किसानको पहुँचमा नपुगेको बताउनुभयो ।
नगर प्रमुख गच्छदारले हाम्रो परम्परा लाई जोगाउन र कृषि धान बालीमा आत्मनिर्भर बनाई आर्थिक उपार्जन बढाउन वैज्ञानिक कृषि प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँले पालिकाका केही वडालाई पकेट क्षेत्र, ब्लक क्षेत्र, जोन र सुपर जोन क्षेत्रको घोषणा गरी कृषिमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयासमा लागेको भए पनि पर्याप्त नभएको बताउनुभयो ।
धान पकेट क्षेत्रका रुपमा दुहबी नगरपालिका लाई चिनाउन राधाकृष्ण किसान समूहलाई प्रोत्साहित गर्न आर्थिक बर्ष २०७९÷८० का लागि रु १२ लाख विनियोजन गरिसकेको साथै अन्य कृषि क्षेत्रमा पकेट कार्यक्रम सञ्चालन गर्न केरा खेती, फुल खेतीका लागि समेत आफू अग्रसर रहेको उहाँले बताउनुभयो ।
उहाँले खाद्य तथा नगदे बालीतर्फ उन्मुख हुन सम्पुर्ण नगर बासीहरूलाई आव्हान गर्दै असार १५ तथा धान दिवसको सबैमा शुभकामना दिनुभएको छ ।
दुहबी नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडाले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले आधुनिक मेसिनको प्रयोगले काट्ने तथा सुरक्षित राख्ने तरीका भित्रिएकोमा खुसी व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले प्रविधिको प्रयोग गरेर कृषिमा क्रान्ति ल्याउन सकिने भन्नुहुँदै सरकारले कृषकलाई कृषि पेशा गर्न प्रोत्साहन र साथ दिने हो भने युवा शक्ति कृषि पेसामा लाग्ने बताउनुभयो ।
सुनसरीमा मात्रै झण्डै ५४ लाख हेक्टर जमिनमा धान उत्पादन हुँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्