भक्तपुर र सूर्य विनायक नगरपालिकाको बजेट पारित
भक्तपुर । भक्तपुर र सूर्य विनायक नगरपालिकाले शुक्रवार नगर सभा सम्पन्न गरेका छन् ।
भक्तपुर नगरपालिकाको बाह्रौँ नगर सभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९/८० का लागि रु दुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सभाको बैठकमा नगरपालिकाको निजी स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, ऋण सापटी र नगरपालिकाले सञ्चालन गरेको नगर विकास आयोजनाको जग्गा बिक्री समेत गरी उक्त रकम बराबरको बजेट प्रस्तुत भएको हो ।
नपाले चालु खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत बजेट विनियोजन गरेको छ । शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको १९.४३ प्रतिशत, स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत, वित्तीयतर्फ २.११ प्रतिशत बजेट विनियोजन गरेको छ ।
त्यसैगरी सूर्य विनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ९२ करोड १८ लाख ७७ हजारको बजेट पारित गरेको छ ।
नगर प्रमुख वासुदेव थापाको अध्यक्षता सम्पन्न ११ औँ नगर सभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आर्थिक वर्ष २०७९/८० को आय–व्यय प्रस्तुत गर्नुभएको बजेट सभाले पारित गरेको हो ।
नपाले चालुतर्फ रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षा भत्तामा रु १६ करोड, सशर्तका कार्यक्रम सञ्चालन गर्न रु २६ करोड ६७ लाख ८४ हजार, चालु खर्चतर्फ रु २५ करोड २५ लाख र पुँजीगततर्फ रु ९९ करोड ४३ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।
दुई दिनसम्म चलेको नगर सभाले नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।
रासस
प्रतिक्रिया राख्नुहोस्