तपाईँ सुन्दै हुनुहुन्छः

‘श्रीयन्त्र’ नेपालको सांस्कृतिक प्रतीक: राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वास्तु विज्ञ तथा राष्ट्रिय झन्डाको वर्तमान स्वरूपका ‘डिजाइनर’ शङ्करनाथ रिमालको ‘श्रीयन्त्र’मा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाण भएको बताउनुभएको छ ।

मुलुकको सांस्कृतिक धरोहर वास्तुकलाका ज्वलन्त नमूना भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले ‘राष्ट्रिय सम्पदाको वास्तु ‘डिजाइनर’ रिमालको गहन अनुसन्धानको फलस्वरूप सिर्जना भएको उक्त कृति समाजका निम्ति महत्त्वपूर्ण दस्ताबेज हो’ भन्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा आज शशी–शङ्कर कलालयद्वारा आयोजित रिमालको कृति ‘श्रीयन्त्र’ दस्ताबेज समर्पण समारोहमा राष्ट्रपति भण्डारीले हिन्दुहरूका आराध्य देश पशुपतिनाथ, प्रसिद्ध तलेजु भवानीको मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदामा श्रीयन्त्रद्वारा विभूषित गर्ने परम्परा भएबाट श्रीयन्त्र मुलुकको सांस्कृतिक प्रतीकको रूपमा रहेको कुरा महसुस गर्न सकिने बताउनुभयो ।

उहाँले समृद्धिको यात्रामा रहेको मुलुकको भौतिक पूर्वाधार विकास गर्दा त्यसमा मौलिकता झल्काउँदै सुदृढ बनाउन समेत सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । रिमालले आफ्नो पुस्तकमा प्राचीन धर्म र आधुनिक इञ्जीनियरिङको संयोजन गर्नुभएको आफूले पाएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले सम्पदा निर्माणको डिजाइनमा नेपाली संस्कृति र संस्कारको परिचय विश्व स्तरमा प्रवर्द्धन गर्न रिमालजस्ता विद्धान लागिपर्नुले मौलिक वास्तुकलाको महत्त्व संसारभर पुर्‍याउन योगदान पुग्ने आशा व्यक्त गर्नुभयो ।

पुस्तकबारे टिप्पणी गर्दै एक हजार आठ स्वामी रमणानन्द गिरीले संसार सञ्चालन भएको शिव र शक्तिको समरस्यको प्रतीक श्रीयन्त्र सृष्टि, स्थिति र संहारको मूल स्वरूप भएको अर्थ्याउनुभयो । ऋकवेददेखि नै श्रीयन्त्रको उपासना हुने गरेको जानकारी दिँदै उहाँले लेखक रिमालले वर्षौँ लगाएर श्रीयन्त्रको ज्यामितीय अनुपात निकाल्नुभएकोमा खुसी व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले जगतका सृष्टिसम्बन्धी साङ्केतिक प्रस्तुति श्रीयन्त्र भएको र यसभित्र नौ त्रिकोण संलग्न भएको जानकारी दिनुभयो । नेपालको परम्पराबाट पश्चिमाहरूले सिकेको बताउँदै उहाँले नेपालीहरूले त्यो कुरा विश्व जगतलाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालको मन्दिरको निर्माण शैली प्यागोडाका प्रसिद्ध वास्तुविद् लेखक इन्जिनियर रिमाल सफल चित्रकार पनि हुनुहुन्छ । उहाँले विशेष अनुसन्धान गरी ‘श्रीयन्त्र’को वृत्त, रेखा, कोण र मर्मस्थानको ज्यामितीय अनुपातको निर्क्यौल गर्नुभएको हो ।

पश्चिमा अध्येताहरूले श्रीयन्त्रबारे विभिन्न आशङ्का र प्रश्न उठाएका र ज्यामितीय रूपमा ‘श्रीयन्त्र’को निर्माण सम्भव नभएको टिप्पणी गरेको सन्दर्भमा उहाँले नेपालको पहिचान बोक्ने विशिष्ट सोध ग्रन्थ ल्याउनुभयो ।

श्रीयन्त्रमा शिवका चार र शक्तिका पाँच त्रिकोण हुन्छ । विश्व सम्पूर्ण संस्था र शिव शक्तिमय छ । शिव भनेको प्रकाश हो र शक्ति भनेको विमर्श हो । तिनीहरूबिच चन्द्र र चन्द्रिकाको जस्तै अभेद्य सम्बन्ध रहेको बताइन्छ । त्यही सृष्टिको रहस्यलाई प्रकट गर्ने उद्देश्यले श्रीयन्त्रको रचना गरिएको मानिन्छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button