स्वास्थ्य स्वयंसेविकाको गुनासो ‘हाम्रो मूल्याङ्कन भएन’
दुलेगौँडा । स्वास्थ्य क्षेत्रमा खटिने स्वयंसेविकाहरूले आफूहरूको योगदानको मूल्याङ्कन नहुने गरेको गुनासो गरेका छन् । देशका स्वास्थ्य अवस्थालाई प्रभावकारी बनाउन गाउँ र टोलदेखि योगदान पुर्याउने आफूहरूको योगदानलाई नजर अन्दाज गरिएकोमा उहाँहरूले दुखेसो पोख्नुभयो ।
आइतबार १८औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिका भित्र कार्यरत रहेका स्वास्थ्य स्वयंसेविकाहरूले सङ्घीयताको महसुस गर्न नपाएको समेत बताउनुभएको छ ।
महिला स्वास्थ्य स्वयंसेवीका सरस्वती सिग्देलले राज्यको निर्णयलाई निःशुल्क कार्यान्वयन गर्ने स्वयंसेविकाहरूलाई हेर्ने दृष्टिकोण फरक रहेको दुखेसो गर्नुभयो ।
“हामी निस्वार्थ खटिएका हुन्छौँ” उहाँले भन्नुभयो, “तर तलब खाएर हिँडेका छन् भन्ने बुझाई धेरैमा छ । हाम्रै प्रयास स्वरूप नेपालमा मातृ मृत्युदर र शिशु मृत्युदर घटेको छ,” उहाँले थप्नुभयो, “तर यसको योगदानको कदर माथिल्लो तहले मात्र लिने गरेका छन् ।”
उहाँले जनप्रतिनिधि आएपछि महिला स्वास्थ्य स्वयंसेविहरुको सिकाई र तालिममा कुनै सहयोग नभएको बताउनुभयो ।
स्वयंसेवीका सूर्यकला सिग्देलले वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएपछि आफूहरूको भूमिका हुन छाडेको बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले नीति निर्माण र नेतृत्व गर्ने तहबाट महिला स्वयंसेविकालाई हेर्ने दृष्टिकोण सकारात्मक हुनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले विगतको तुलनामा स्वंयमसेवीकाहरुलाई हेर्ने दृष्टिकोण राम्रो हुँदै गएको बताउनुभयो ।
नगरमा कुल ५७ जना महिला स्वयंसेवीका छन् ।
यसैबीच घिरिङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा घिरिङमा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरस्वती घिमिरे सिग्देल, घिरिङ गाउँपालिका वडा न १ का वडा अध्यक्ष गङ्गा राम कुमाल, घिरिङ गा.पा. सल्लाहकार सुमन श्रेष्ठ ,गाउँपालिका सदस्य तहल्सिङ थापा, ने.क.पा.एमाले .घिरिङ गाउँ कमिटीका अध्यक्ष विष्णु प्रसाद ढकाल लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
सो अवसरमा ५ जना महिला स्वास्थ्य स्वयंसेविका लाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाबाट सम्मान गरिएको थियो ।
‘स्वस्थ जीवन शैली हाम्रो आवश्यकता संकट न्यूनीकरणमा महिला सामुदायिक स्वयंसेविका ’ भन्ने नाराका साथ देशभर स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्