‘जवाद’ चक्रवादका नेपालमा सामान्य असर
काठमाडौँ । बङ्गालको खाडीको मध्य पश्चिम भूभागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले मौसम बदली र वर्षा गराएको छ ।
सो चक्रवात आज बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुगेको र तत्पश्चात् उत्तर उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ ।
यसका कारण नेपालमा खासै ठुला प्रभाव पर्ने सम्भावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज रातिबाट प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भाष्हका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आगामी सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने पनि महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ ।
सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । ती प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।
पर्वतारोहण र हवाई उडान प्रभावित हुनसक्ने
सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आइतबार राति र सोमबार दिउँसो उक्त मौसमी प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।
सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको छ । यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोध गरेको छ ।
महाशाखाले माथि उल्लिखित दुवै प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार विशेष बुलेटिन जारी गर्ने जनाएको छ ।
महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा सोहीअनुसार नियमित रुपमा अद्यावधिक गरिने भन्दै अद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ ।
महाशाखाले हिउँदै मौसम अपडेटसम्बन्धी आज विशेष बुलेटिन निकालेर विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।
आज काठमाडौँ उपत्यकामा बिहान बाक्लो कुहिरो लागेको थियो जसका कारण बढी चिसो महसुस गरिएको छ । बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भयो ।
अन्तर्राष्ट्रियतर्फ केही अहिले विमानस्थलको नियमित उडान सामान्य रहेको विमानस्थलले जनाएको छ ।
आज काठमाडौँको न्यूनतम १० र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस छ । गए राति काठमाडौँमा दुई, जुम्लामा दुई र पोखरामा एक मिलिमिटर वर्षा भएको जनाइएको छ । रासस
प्रतिक्रिया राख्नुहोस्