एकीकृत समाजवादीमा आउनेको लहर बढ्दै छ : अध्यक्ष नेपाल
भक्तपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो पार्टी हुने बताउनुभएको छ ।
भक्तपुरमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष नेपालले देशव्यापी रुपमा आफ्नो पार्टीमा आउनेहरूको लहर बढेको बताउनुभयो ।
उहाँले एकीकृत समाजवादी राम्रो पार्टी रहेको र सही निष्कर्षमा पुग्ने पार्टी भएको दाबी गर्नुभयो । उहाँले अब कलम छापलाई जिताएर देशमा समाजवाद ल्याउने बताउनुभयो ।
उहाँको पार्टीमा विधि र पद्धति, क्षमता र योगदानको आधारमा सबै नेता र कार्यकर्ताको उचित मूल्याङ्कन हुने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्नुभएका डा.दिनेश भुजु, डा.लक्ष्मी शिल्पकार, डा.राजन सुवाल, डा.प्रकाश सुवाल, डा. तिलक श्रेष्ठ, डा.अनुपमा अमात्य, इन्जिनियर रविन ढुकुछु, र माओवादी केन्द्रका नेता ओमचरण अमात्य, नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु र जयन्द्र अमात्यलाई टिका र खादा लगाएर स्वागत गर्नुभयो ।
उहाँहरु मध्ये केही विगतमा नेपाल मजदुर किसान पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका भक्तपुरका पुराना चर्चित व्यक्ति समेत हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्