खोटो बोकेर खर्च धान्दै विद्यालय उमेरका बालबालिका
डडेलधुरा । हेमन्त ऋतुको दोस्रो साता जाँदै गर्दा मध्य पहाडी क्षेत्रमा चिसो निकै बढिसकेको छ । हिमाली क्षेत्रमा त शरद ऋतुमा नै हिमपात भइसकेको छ ।
तैपनि, बिहान बेलुकीको चिसो सिरेटोमा विद्यालय उमेर समूहका बालबालिका खोटो बोकेर आफ्नो पढाइ र परिवारको खर्चमा सहयोग गरिरहेका छन् ।
डडेलधुराका केही बालबालिका बिहानको ६ नबज्दै घरबाट निस्किन्छन्, १८ किलोग्रामको खोटो भरिएको कन्टर करिब डेढ घण्टा बोकेर ६० रुपैयाँ कमाउने गर्दछन् ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–६ निलौटा बस्ने राकेश बोहरा १२ वर्षका छन् । अमरगढी नगरपालिका–७, पोखरामा रहेको उग्रतारा माविमा उनी कक्षा ६ मा अध्ययनरत छन् ।
उनका बुवा आमाले परम्परागत खेती किसानी गर्छन् । राकेश र उनका भाइ दिनेश बिहान बेलुकी घर छेउमा सङ्कलन भएको खोटो पोखारामा रहेको खोटो सङ्कलन केन्द्रमा पुर्याई दैनिक ६० रुपैयाँ कमाउँछन् ।
अहिलेको समयमा खोटो सङ्कलन हुने भएकाले राकेश जस्तै अरू बालबालिका र यस क्षेत्रका महिला बिहानै जङ्गल पुगेर खोटोको कन्टर बोकेर जीविकोपार्जन गर्ने गर्दछन् ।
खोटो बोक्नेदेखि होटेल, पसल, सवारीका साधन, घर आदि विभिन्न क्षेत्रमा बालबालिका विद्यालयबाट समेत वञ्चित भई काम गर्न बाध्य छन् ।
प्रतिक्रिया राख्नुहोस्