लागु औषध मुद्दाका दोषी १७ वर्षपछि पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा लागु औषध चरेस मुद्दामा दोषी ठहर गरिएका एक महिला १७ वर्षपछि पक्राउ परेकी छन् ।
भीमदत्त नगरपालिका–८ तिलाचौरकी जानकीदेवी धामी पक्राउ परेकी हुन् ।
जिल्ला अदालत कञ्चनपुरले २०६१ माघ १७ गते धामीलाई लागु औषध चरेस मुद्दामा दुई वर्ष कैद र १५ हजार जरिवाना गरेको थियो । अदालतबाट दोषी ठहर भएपछि प्रहरीले उनको खोजी गर्दै आएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले धामीलाई उनको घरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
धामीलाई जिल्ला प्रहरी कार्यालय र मातहत टोलीले पक्राउ गरेपछि जिल्ला अदालतमा पेस गरिएको छ । अदालतमा पेस गरिएकी धामीलाई कञ्चनपुर कारागार चलान गरिएको छ । अदालतले कैद पुर्जी जारी उनलाई कारागार पठाएको हो ।
अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर गरिएका प्रतिवादी पक्राउका लागि प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ । प्रहरीले यसअघि पनि विभिन्न मुद्दामा फरार प्रतिवादीहरू पक्राउ गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्