तपाईँ सुन्दै हुनुहुन्छः

मधेसमा जसपा नयाँ शक्तिको रुपमा उदाउँछ : मन्त्री यादव

वीरगञ्ज । जनता समाजवादी पार्टीका उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले पारदर्शिता र जबाफदेही भएर जनपक्षिय कामहरू गर्दै मधेसमा जसपा नयाँ शक्तिको रुपमा उदाउने दाबी गर्नुभएको छ ।

बाराको कलैयामा आज अशोक राई नेतृत्वको जनता समाजबादी पार्टीको घोषणा सभाको उद्घाटन गर्दै पार्टीका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले साझा अभियानलाई जनताको घरदैलो सम्म पुर्‍याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूहरू जुटेको दाबी गर्नुभयो ।

उहाँले जनताको सेवामा निरन्तर क्रियाशील रहँदै मधेससँगै देशकै समृद्धि र विकासलाई अगाडी बढाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री यादवले मधेसमा व्याप्त खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मधेसमा स्वास्थ्य, शिक्षा, विकास निर्माण, कृषि पर्यटन उद्योगको समग्र विकासका लागि सरकारले ठोस कार्ययोजना बनाइरहेको बताउनुभयो ।

कार्यक्रममा जसपाका केन्द्रिय सदस्य एवं वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले मधेस सधैँ विभेदमा परेको र मधेसलाई अधिकार सम्पन्न बनाउने काम अझै बाँकी रहेको बताउनुभयो ।

कार्यक्रमबाट अजय पटेलको नेतृत्वमा ४१ सदस्यीय जिल्ला कार्य समितिको नाम घोषणा गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button