तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय वन रक्षकले गोली चलाउँदा एक नेपाली घाइते 

बर्दिया । बर्दियामा भारतीय वन रक्षकले गोली चलाउँदा एक नेपाली घाइते भएका छन् । बर्दियाको नेपाल–भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका गुलरिया नगरपालिका वडा नं ८ नारायण टोलका ४५ वर्षीय बलाराम लोध घाइते हुनुभएको छ । भारतीय सीमा नजिकको आफ्नो खेतमा काम गरिरहेको समयमा वन रक्षकले सीमा पारीबाट गोली चलाएका हुन् । 

गएराती करिब सात बजेको समयमा लोधलाई गोली लागेको उहाँका भाइ बाँकेलाल लोधले बताउनुभयो । उहाँले भन्नु भयो –‘हाम्रो खेत ६२ नम्बर पिलरनीर रहेको छ, खेतमा जङ्गली जनावर आएर धानबाली खाइदिने भएकोले दाइ खेतमा जानुभएको थियो । सोही समयमा भारतीय वन रक्षकले गोली हानेका हुन् ।’

घाइते लोधलाई गोली लागेपछि तत्काल बर्दिया अस्पताल ल्याइएको थियो । बर्दिया अस्पतालका अनुसार लोधको एक्सरे गर्दा करिब १५ वटा गोलीको छर्रा भएको पत्ता लागेको छ । उहाँलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको छ । 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनाको बारेमा थप सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ऋषिराम घर्ती मगरले  बताउनुभयो । 

यस अघि पनि केही बर्ष अगाडि आशापुर कै एक जनालाई भारतीय वन रक्षकले गोली हानी पक्राउ गरी बेपत्ता पारेका थिए । उनको अवस्था हाल सम्म पत्ता लाग्न सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button