तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले खानेपानीको पाइप बगाउँदा सूर्योदयमा एक सातादेखि खानेपानी अभाव

इलाम । अविरल वर्षासँगै गएको पहिरोले खानेपानीको पाइप बगाउँदा इलामको सूर्योदय नगरपालिकाका १ हजार ५ सय घरपरिवारमा एक सातादेखि खानेपानी अभाव भएको छ ।

बर्षातपछिको बाढीपहिरोले पाइपलाइन बगाउँदा सूर्योदय नगरपालिका भित्रका ३ वटा वडामा खानेपानीको समस्या भएको हो ।

फिक्कल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट पानी वितरण हुँदै आएकोमा वडा न. १ मा पहिरो जाँदा करिब ४५० मिटर पाइपमा पुर्णरुपमा क्षति पुगेको छ ।

सूर्योदय नगरपालिका–१ को मुहान क्षेत्र श्रीखोलामा ४ सय ५० मिटर पाइपलाइन बगाएपछि सूर्योदय नगरपालिका ८, ९ र १० नम्बर वडामा खानेपानीको समस्या भएको छ ।

मुहान क्षेत्र श्रीखोला इन्द्रिने दोभानमा पाइपलाइन पुनः राख्न नसक्ने गरी बगाएकोले अर्को मार्ग प्रयोग गरेर पाइप जोडने कार्य भइरहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो ।

पहिरोले फिक्कल खानेपानी उपभोक्ता समितिको करिब ३० देखि ४० लाख बराबारको क्षति भएको संस्थाका अध्यक्ष तथा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालले जानकारी दिनुभयो ।

मुहानको २ सय मिटर तलको क्षेत्रमा पहिरोले पाइपलाइन बगाएको छ । सो क्षेत्रमा अहिले रुट परिवर्तन गरि मर्मतको काम शुरु भएको छ ।

यस्तै, पान्दाम र बागबिरे क्षेत्रको पाइप लाइनमा पनि पहिरोबाट क्षति भएकोले झरी पानीको बीच पनि मर्मत कार्य जारी रहेको नगरपालिकाले जनाएको छ । अहिले नगरको डोजर प्रयोग गरेर अवरुद्ध सडक खुलाएर पाइप क्षतिग्रस्त स्थलतर्फ पुर्‍याइएको छ ।

मुहानबाट सूर्योदय नगरपालिका–१० को फिक्कल बजारसम्म २१ किलोमिटर लामो पाइपलाइन रहेको छ । श्रीखोलाबाट आपूर्ति भएको पानी २४सै घण्टा उपभोक्तामा वितरण हुँदै आएको थियो ।

सूर्योदय नगरपालिकाले फिक्कल र आसपासको क्षेत्रमा नगरको खानेपानी ट्याङ्कर मार्फत निःशुल्क पानी वितरण गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button