तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाई मन्दिर दर्शन गर्न जाने दर्शनार्थीका लागि निःशुल्क बस सेवा

बारा । बाराको बरियापुरस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिर दर्शन गर्न जाने दर्शनार्थीका लागि बस सेवा निःशुल्क गरिएको छ ।

कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । महागढीमाई नगरपालिका र गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा दर्शनार्थीहरुको सहजताका लागी निःशुल्क बस सेवा सुरु गरिएको हो ।

कलैयाको भरत चोकबाट बिहान ६ः३० बजे दर्शनार्थीलाई लिएर बस गढीमाई मन्दिरसम्म जाने र बिहान ८ः३० बजे पुनः बस कलैया फर्किने ओम विनायक ट्राभल्स प्रालिका अध्यक्ष अच्युत पौडेलले बताउनुभयो । बिहीबारदेखि नै कलैयाबाट निःशुल्क बस सेवा सुरु भएको छ ।

महागढीमाई नगरपालिकाका मेयर तथा मेला समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले गढीमाई मन्दिर र मेलामा दर्शन गर्न आउने दर्शनार्थीका सहजताका लागि ओम विनायक ट्राभल्स प्रालिका अध्यक्ष पौडेलसँगको समन्वयमा कलैयाबाट मन्दिरसम्म निःशुल्क बस सेवा सुरु गरिएको बताउनुभयो । बारा बस व्यवसायी सङ्घको समन्वयमा थप चार वटा बस निःशुल्क सञ्चालन गर्ने बारेमा पहल भइरहेको उहाँले बताउनुभयो ।

घटस्थापनादेखि नवमीका दिनसम्म कलैयाबाट गढीमाई मन्दिरसम्मका लागि ओम विनायक ट्राभल्सले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button