तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपहिरो : काभ्रेमा प्रारम्भिक राहत वितरण गरिँदै

काभ्रेपलाञ्चोक । केही दिनअघिको बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई चौँरीदेउराली गाउँपालिकाले रु ५० हजार आर्थिक राहत दिने निर्णय गरेको छ ।

उक्त गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाले विपद्मा परी घर क्षति भई खान बस्न समस्यामा परेका परिवारलाई क्षतिको विवरण सङ्कलन गरी पुनः निर्माणमा लागिने निर्णय भएको प्रवक्ता धनबहादुर तामाङले बताउनुभयो ।

यस्तै गाउँपालिकामा अवरुद्ध मुख्य सडक खुलाउने र क्रमशः बाँकी शाखा सडक खुलाइने जनाइएको छ । पनौती नगरपालिकाले प्रतिमृतक परिवारलाई तत्काल रु २५ हजार राहत प्रदान गर्ने निर्णय गरेको छ । नगरले तत्कालका लागि विभिन्न सङ्घसंस्था, व्यक्तिको सहयोगमा सङ्कलित राहतबाट प्रतिपरिवार दुई थान त्रिपाल, चामल एक बोरा (२५ किलो), तीन साबुन, एक लिटर तेल प्रदान गरेको छ ।

अविरल वर्षापछिको बाढीपहिरोका कारण बढी मानवीय र भौतिक क्षति भएको पनौती नगरले विपद् पछिको ‘राहत र पुनःस्थापना’का लागि विभिन्न निर्णय र कदम अघि बढाएको हो ।

पनौतीमा बाढीपहिरोमा परी १८ को मृत्यु र २५ जना गम्भीर घाइते भएको पनौतीमा दुई हजारभन्दा बढी पशुचौपाया मरेका छन् । रोशी खोलाको तटीय क्षेत्रमा रहेका करिब पाँच सय घर बगाएका छन् भने करिब दुई सय घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ । अधिकांश सडकमा क्षति हुँदा दूध तथा तरकारी ढुवानी हुनसकेको छैन । चालु आर्थिक वर्षमा विनियोजित योजना हाललाई स्थगन गरी राहत र क्षतिग्रस्त क्षेत्रको निर्माणमा लाग्ने निर्णय भएको पनौतीका नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार निजी र नगरको साझेदारीमा मोटर बाटो पुनःनिर्माण गर्न थालिएको, क्षतिग्रस्त विद्युत्का खम्बा पुनःनिर्माण गरी विद्युत् आपूर्ति नियमित, खानेपानीका लागि क्षति भएका क्षेत्रमा पाइप वितरण गर्नुका साथै तत्कालका लागि ट्याङ्करबाट पानी वितरण गरिएको छ । पनौती क्षेत्रका सात पक्की पुल र एक झोलुङ्गे पुल पूर्ण क्षति भएको, तीन स्वास्थ्य चौकी र २० विद्यालयमा क्षति भएको जनाइएको छ ।

यस्तै धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिकाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने तयारी गरेका छन् । धुलिखेल नगरले नगर क्षेत्रभित्र बाढी पहिरोबाट क्षति पुगेका परिवारलाई राहत उपलब्ध गराउन रु एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको हो । यसका लागि नगरपालिकाले मानवीयलगायत क्षतिको विस्तृत विवरण सङ्कलन गर्न प्रत्येक वडामा प्राविधिकसहितको टोली परिचालन गरेको छ ।

यसैगरी मण्डनदेउपुर नगरले मृतक परिवारलाई रु ५० हजारका दरले आर्थिक सहयता गर्ने निर्णय गरेको छ । नगरपालिकाले घाइतेलाई निःशुल्क उपचार गरिरहेको छ ।

बनेपा नगरले तत्काल वडामा विपद् व्यवस्थापन समितिमार्फत क्षतिको विवरण सङ्कलन गरी सोही विवरणका आधारमा विपद्मा परी मृत्यु हुनेका परिवारलाई जनही रु ३० हजार, घाइतेलाई रु २० हजार, पूर्ण क्षति भएको घरलाई रु १० हजार, गोठलाई रु पाँच हजार, उच्च जोखिममा परेको घरलाई रु पाँच हजार, पूर्णरुपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई रु १० हजार, दुहुनो गाई वा भैँसी मरेकाको परिवारलाई रु १० हजार र बाच्छाबाच्छी बाख्राको हकमा भने प्रति रु पाँच हजारका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

यसैबीच, जिल्ला विपद् व्यवस्थापन समितिले समन्वय, खोज तथा गैर खाद्य सामग्रीको व्यवस्थापन, पूर्वाधार, खाद्य कृषि तथा पशुपक्षी, आश्रय स्थल, स्वास्थ्य तथा पोषण, शिक्षा, बजार अनुगमन, सुरक्षा, खानेपानी सरसफाइ तथा स्वच्छन्दता र सामाजिक संरक्षण लगायतका विषयमा नेतृत्व गर्ने निकायलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार उद्धार, उपचार, पुनःस्थापना, राहतलगायतका कार्यलाई प्राथमिकीकरण गर्दै राहात र पुनःस्थापनाका लागि तत्काल वडासचिव, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतमार्फत तथ्याङ्क सङ्कलन गरी एकद्धार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ ।

बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरण कार्य जारी नै राखिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा विभिन्न निकाय एवं सङ्घसंस्थाबाट प्राप्त राहत सामग्री प्राथमिकताका आधारमा वितरण गरिन्छ ।

काभ्रेपलाञ्चोकमा पछिल्लो विवरणअनुसार ७० जनाको मृत्यु भएको छ । घटनामा छ जना बेपत्ता भएका छन् भने ७५ जना घाइते भएका छन् । मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो । घटनामा हालसम्म ३१ महिला, २५ पुरुष, आठ बालक र छ बालिकाको मृत्यु भएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button