तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामको शक्तिपीठहरुलाई नयाँ बेहुली झैँ श्रृङ्गारिए

जनकपुरधाम । नेपाली हिन्दुहरूको महान् चाड विजया दशमीको रौनक जनकपुरधाममा शुरु भएको छ । यहाँका शक्तिपीठहरुलाई नयाँ बेहुली झैँ श्रृङ्गारिएको छ । घटस्थापना सँगै शक्ति पीठहरूमा पूजाका लागि पुग्ने भक्तजनहरूको भिड बढेको छ । 

जनकपुरधामको प्रमुख शक्तिपीठको रुपमा रहेको राजदेवी मन्दिरलाई विशेष रुपमा सजाउने काम भएको छ । महावीर युवा कमिटीको आयोजनामा वर्षेनी रुपमा भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको पूजाको आयोजना हुँदै आएको छ । 

जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको राममन्दिरमा रहेको राजदेवी मन्दिर रहेको । राजा जनकको कूल देवताको रुपमा पूजित माता राजदेवी मन्दिरमा भक्तजनहरूले भाकल गरे अनुसारको फल प्राप्त हुने भएकाले आज बिहान घटस्थापना सँगै भिड बढेको छ । 

राजदेवी मन्दिरमा महाअष्टमीसम्म प्रसाद चढाउनेहरूको अत्यधिक भिड रहने गरेको छ । सोही दिन साझ ७ बजेबाट बोका बलि शुरु हुने र त्यसपछि राजदेवी मन्दिरमा पूजाका लागि जाने दर्शनार्थीहरुको भिड् घट्ने गरेको छ । 

यसै गरि जनकपुरधामको अन्य शक्तिपीठहरुलाई विशेष रुपमा सजाउने काम भएको छ । जनकपुरधामको बौद्धिमाई, अमरखाना, पियरीयामाई थान, पल्टिमाईलाई विशेष रुपमा सजाउने काम भइरहेको छ । विभिन्न पूजा समितिहरूले ती मन्दिरहरूलाई झकीझकाउँ बनाउने काम भएको छ । 

यसका साथै जनकपुरधामको विद्यापति चौधमा रहेको ऐतिहासिक दुर्गा मन्दिरमा आकर्षक मूर्तिको निर्माणका साथै विशेष रुपमा सजाउने काम भएको छ । जनकपुरधामको रामानन्द चोक, भ्रमरपुरा चोक सहितको ठाउँमा माटो आकर्षक प्रतिमाको निर्माण गरेर प्रत्येक वर्ष झैँ यस वर्ष विशेष पूजाको आयोजना गरिएको छ ।

मिथिलाको ग्रामीण क्षेत्रमा पनि विजया दशमीको चहलपहल शुरु भएको छ । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा रहेको प्रमुख धार्मिक शक्ति पीठको रुपमा रहेको दुर्गा मन्दिरमा सैयौ वर्ष देखि आयोजना हुँदै आएको दुर्गा पूजा यस पटक पनि भव्य रूप शुरु भएको छ । वैदिक विधि विधान अनुसार घटस्थापना गरिएको छ । नेपालमा नै सबैभन्दा विशिष्ट प्रकारको पूजा पद्धतिले पूजा हुने गरेको छ । 

यसका साथै सप्तरीको द्धिन्नमस्ता भगवती र सखडा भगवती मन्दिरमा पनि घटस्थापनाको अवरमा बिहान देखि नै भक्तजनहरूको अत्यधिक भिड रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button