तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीका पाँच स्थानमा प्रहरीको यात्रु सहायता कक्ष स्थापना

नवलपरासी,पश्चिम् । नवलपरासीमा चाडपर्व लक्षित कार्ययोजना अनुरुप जिल्लाका विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वको समयमा भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या कम गराउन २४ घण्टे सहायता कक्षको स्थापना गरिएको हो ।

सो अवसरमा नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले अहिले विपद्सँगै चाडपर्व नजिकिँदै गएकाले यात्रुलाई थप असहजता हुने भन्दै सबै सरोकारवालाहरूको सहयोगमा मात्र यात्रु सहायता कक्ष सञ्चालन हुने बताउनुभयो ।

सार्वजनिक यातायातमा चाडपर्वमा अपाङ्गता भएका, अशक्त र महिला आरक्षण सिटमा समेत अन्य व्यक्तिहरू राखिने हुनाले यसलाई पनि ख्याल गरिदिन यातायात व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले प्रहरीको जनशक्ति र श्रोत साधनको उच्चतम प्रयोग गरी चाडपर्वमा हुने विभिन्न अपराधिक गतिविधिहरू नियन्त्रण गरिने बताउनुभयो ।

नवलपरासीमा महेसपुर, परासी बाइपास रोड, सुनवल, भुमही र बर्दघाटको त्रिवेणी चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले अप्ठ्यारोमा परेका यात्रुहरूलाई सहायता प्रदान गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button