तपाईँ सुन्दै हुनुहुन्छः

बाँके प्रहरीद्वारा दश करोड २६ लाख बराबरको राजस्व सङ्कलन

बाँके । राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न बाँके प्रहरी सक्रिय रहेको छ ।

तस्करी नियन्त्रण गरी राजस्व सङ्कलन गर्ने क्रममा बाँके प्रहरीले गत आर्थिक वर्षमा १० करोड भन्दा बढी मूल्य बराबरको राजश्व सङ्कलन गरिएको जनाएको छ । उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायत शीर्षकबाट सङ्कलन भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आव २०८०/०८१ मा अवैध रुपमा भन्सार छली तथा बिलबीजक नभएका अवैध सामानहरू रु ४ करोड ५५ लाख ४ हजार ६ सय ४३ बढीको बरामद गरिएको उल्लेख छ ।

बाँके प्रहरीका अनुसार ट्राफिक कारबाहीबाट रु २ करोड ६५ लाख ७६ हजार ५ सय ४६ राजस्व सङ्कलन भएको थियो ।

नदीजन्य पदार्थ दोहनबाट ४ लाख १० हजार, स्रोत नखुलेको रु। १ करोड ६४ लाख २८ हजार ३ सय, फरार प्रतिवादीबाट १ करोड ९६ हजार ९ सय २६, हुन्डी कारोबार गर्नेहरूबाट २४ लाख ६२ हजार ३ सय १५ र अवैध बाेईलर कुखुराबाट ११ लाख ३६ हजार ७ सय गरी जम्मा १० करोड २६ लाख १२ हजार ३ सय ८४ रुपैयाँ सङ्कलन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

जिप्रका बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले राज्यको कानुन कार्यान्वयनका क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाही लगायत कार्यबाट नेपाल प्रहरीले वार्षिक ठूलो परिमाणमा राजस्व सङ्कलन गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button