तपाईँ सुन्दै हुनुहुन्छः

सबल अर्थतन्त्र विना मुलुकले समृद्धि हासिल गर्न सक्दैन: सभापति देउवा  

बीरगंज । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले सबल अर्थतन्त्र विना मुलुकले समृद्धि हासिल गर्न नसक्ने हुँदा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडी बढ्ने दाबी गर्नुभएको छ ।

वीरगंजका उद्योगी व्यवसायीहरूसँग भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रका समस्या समाधान नभई मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने बताउनुभयो । 

उहाँले स्वदेशमा उद्योग कलकारखाना संचालनगरी बढी भन्दाबढी रोजगारको अवस्था सृजना गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्दै विदेश पलायन भई रहेको नेपाली जनशक्तिलाई स्वदेशमै रोजगारी दिएर मुलुकलाई समृद्धिको दिशामा अगाडी बढाउनु अहिले सबैको दायित्व र जिम्मेवारी भएको कुरामा जोड दिनुभयो । 

सभापति देउवाले उद्योगी व्यवसायीहरूले सधैँ समस्या मात्रै उठाई रहने समाधान तर्फ केन्द्रित नहुने गरेको गुनासो गर्नुहुँदै समस्याको समाधान सँगै देशको अर्थतन्त्र कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ कदम चाल्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले बीरगंज मुलुकको अर्थतन्त्रको केन्द्रको रुपमा रहेको र मुलुकको बढी राजस्व बीरगंजबाटै उठ्ने हुँदा बीरगंजको विकास समृद्धि सँगसँगै यस क्षेत्रका उद्योग कलकारखानाका समस्या समाधानप्रति सरकारको ध्यान केन्द्रित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य डा.सुबोध गुप्ता, बीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु ओम प्रकाश शर्मा, अशोक वैद्य, प्रदीप केडिया, अनिल रुंगटा, बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल लगायत वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा वीरगंजका उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले बैङ्कको चर्को ब्याजदर, विद्युतको समस्या, निजी क्षेत्रलाई राज्यले उपलब्ध गराउनुपर्ने सहुलियत उपलब्ध नगराएको प्रति गुनासो व्यक्त गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button