तपाईँ सुन्दै हुनुहुन्छः

समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान  रहेको छ : मन्त्री गुरुङ

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताउनुभएको छ ।

संविधान दिवसको सन्दर्भमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित “सांस्कृतिक रूपान्तरण पुरस्कार २०८१” कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले चलचित्रको उत्थान गर्न मन्त्रालयले भरपुर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“अप्रत्यक्ष रुपमा समाज रुपान्तरणका लागि अहम भूमिका खेल्ने प्रभावकारी माध्यम चलचित्र हो । मन्त्रालय यस क्षेत्रको उन्नतिमा सकारात्मक छ”, उहाँले भन्नुभयो । उहाँले यो वर्ष चलचित्र विकास बोर्डको नीति परिमार्जन गर्ने बताउँदै आवश्यक सुझावको अपेक्षा गर्नुभयो । 

कार्यक्रममा चलचित्र विकास बोर्डले नेपाली चलचित्र “बलिदान” लाई यो वर्षको सांस्कृतिक रूपान्तरण पुरस्कार २०८१ ले सम्मान गरेको छ ।

नेपाली चलचित्र इतिहासको एक उत्कृष्ट एवं कालजयी चलचित्रमार्फत राष्ट्रियता, सामाजिक न्याय, अभिव्यक्ति स्वतन्त्रता, मानवीय गरिमा र मूल्यको प्रवर्द्धन तथा समाजमा वैचारिक एवं भावनात्मक जागरण अभिवृद्धि गरी सांस्कृतिक रूपान्तरणमा योगदान गर्ने चलचित्रलाई वर्षेनी सम्मान गरिने बोर्डले निर्णय गरेको हो । 

यसै चलचित्रमार्फत सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याउनु भएका पाँच कलाकारलाई पुरस्कार प्रदान गरिएको छ । बलिदानका निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, सङ्गीतकार श्याम तमोट, गायिका लोचन भट्टराई पुरस्कृत हुनुभएको हो ।

कार्यक्रममा अन्य चलचित्रमार्फत समाज रुपान्तरणका लागि योगदान पुर्‍याउनुभएका कलाकार रमेश रञ्जन झा, कविता आले, देशभक्त खनाल, ऋद्धिचरण श्रेष्ठ, माओत्से गुरुङ, विकास चौधरी, प्रेमा अधिकारी गैरेलाई पुरस्कृत गरिएको छ । 

कलाकार हरिवंश आचार्यले चलचित्र फेरिए जस्तै सरकारको सत्ता फेरबदल नगरेर विकास निर्माणमा केन्द्रित भइदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सञ्चारमन्त्री गुरुङ र सचिव राधिका अर्यालले पुरस्कृत सम्पूर्णलाई जनही रु २५ हजार नगद र ताम्र पत्रसहित सम्मान गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button