तपाईँ सुन्दै हुनुहुन्छः

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

पर्सा । नेपाली सेनाको श्रीजङ्ग गणले पर्सा जिल्लामा पर्ने चुरे संरक्षणका लागि वृक्षरोपण अभियानको सुरुआत गरेको छ । गणले आज वीरगञ्ज महानगरपालिका–३१ स्थित भेडाहा खोला आसपासको खुल्ला ठाउँमा वृक्षरोपण गरेर चुरे क्षेत्रलाई संरक्षण गर्न लागेको हो । 

श्रीजङ्ग गणका गणपति एवं प्रमुख सेनानी निराजन कटुवालले चुरे क्षेत्रमा वनजङ्गल अतिक्रमण भएकाले वृक्षरोपण गरिएको बताउनुभयो । ‘‘चुरे क्षेत्रको वनजङ्गल प्राकृतिक प्रकोप र मानवीय अतिक्रमणका कारणले मासिने क्रम बढिरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘हामीले चुरे क्षेत्रलाई नजोगाउने हो भने भविष्यका सन्तती ठूलो समस्यासँग जुध्नुपर्ने हुन्छ । त्यसैले भावी पुस्ताका लागि पनि चुरे क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक छ ।’’

उक्त क्षेत्रमा भेडाहा खोलाले बर्सेनि धार परिवर्तन गर्ने गरेको छ । बाढीले जग्गा कटान गर्न थालेपछि सो क्षेत्र उच्च जोखिममा छ । त्यसैले उक्त क्षेत्र संरक्षण गर्नका लागि वृक्षरोपण अभियान अघि सारिएको प्रमुख सेनानी कटुवालले बताउनुभयो । गणले यस पटक पाँच हजार बिरुवा रोप्न लागेको उहाँले जानकारी दिनुभयो । 

‘‘चुरे संरक्षणका लागि वृक्षरोपण अभियान चलाएका छौँ”, उहाँले भन्नुभयो । उहाँले मातहतका निकायलाई वृक्षरोपण पछि नियमित रुपमा बिरुवाको हेरचाह र संरक्षणमा ध्यान दिन निर्देशन दिनुभयो । 

 सबैया सबडिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रवेश प्रसादले विभिन्न प्रजातिका बिरुवा रोपिएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरी सतिसाल, अमला, सागवान, सिसौ, लहरेपिपललगायतका प्रजातिका बिरुवा रोपिएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button