तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा ५१४ जना डेँगुका बिरामी

गोरखा । गोरखा जिल्लामा डेँगुका बिरामीको सङ्ख्या ५१४ जना पुगेको छ ।

अहिले जिल्ला अस्पताल, आँपपिपल अस्पताल, पालिकाहरूमा रहेका आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा डेङ्गीको जस्तो लक्षण भएका बिरामीको चाप बढेको छ ।

अहिलेसम्म गोरखा नगरपालिकामा सबैभन्दा धेरै ३७१ जनामा डेङ्गी देखिएको छ । आरुघाट गाउँपालिकामा ५९, पालुङटार नगरपालिका ५४, शहिद लखन गाउँपालिकामा १२, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा समान ३÷३, भिमसेन थापा गाउँपालिका २ र चुमनुब्री गाउँपालिका १ जना डेँगु संक्रमित भेटिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताउनुभयो ।

गोरखा अस्पतालमा दैनिक ३०/३५ जना डेँगु परीक्षणका लागि आउने गर्दछन् । परीक्षण गरिएका १५÷३० जनामा पोजेटिभ केस देखिने गरेको गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.सिद्धार्थ खनालले बताउनुभयो ।

डेँगुका कारण गत भदौ ३० गते आइतबार गोरखा नगरपालिका १० बिरेञ्चोकका एक पुरुषको उपचारका क्रममा चितवनमा निधन भएको छ । गोरखा अस्पतालमा उपचारको क्रममा भाद्र २५ गते उनमा डेँगुको संक्रमण पुष्टि भएको थियो ।

जापानिज इन्सेफ्लाइटिसका कारण एक जनाको अवस्था गम्भीर रहेको र उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको फोकल पर्सन अर्यालले जानकारी दिनुभयो ।

डेङ्गु, एडिस एजिप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइसल सङ्क्रमण हो । यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ । यसको प्रमुख लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुई देखि सात दिनसम्म लाग्छ ।

गोरखा नगरपालिका क्षेत्रमा डेँगुको संक्रमण फैलिएपछि यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको नगरप्रमुख कृष्ण बहादुर राना मगरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button