तपाईँ सुन्दै हुनुहुन्छः

वेतन कर्णाली जलविद्युत आयोजनाको काम अघि बढाउन माग

सुर्खेत । कर्णालीको ऊर्जा समृद्धिसँग जोडिएको वेतन कर्णाली जलविद्युत आयोजनाको कामलाई अघि बढाउन सुर्खेतका सरोकारवालाले माग गरेका छन् ।

कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका सहभागी सरोकारवालाले सुर्खेत र अछाम बीचमा रहेको कर्णाली नदीमा निर्माण गर्न लागिएको ४ सय ३९ मेगावाट क्षमताको वेतन कर्णाली अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माणमा भईरहेको ढिलासुस्तीप्रति चिन्ता जाहेर गर्दै निर्माण कार्यलाई तत्काल तीव्रता दिन माग गर्नु भएको हो ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले वेतन कर्णालीको निर्माण कार्य कुनै पनि वाह नामा नरोक्न र समस्या भएमा सरोकारवालासँग छलफल गरि अघि बढ्न सुझाव दिनुभयो ।

उहाँले प्रदेशमा ऊर्जा समृद्धिसँग जोडिएका वेतन कर्णाली जस्ता अन्य थुप्रै स्थानहरूमा आयोजना निर्माण गर्न सकिने सम्भावना रहेकाले त्यसतर्फ समेत सोच्न कर्मचारी सञ्चय कोषलाई आग्रह गर्नुभयो ।

कर्मचारी सञ्चय कोष जस्तो जिम्मेवार संस्थाले सुर्खेत र अछाम जिल्लाको कर्णाली नदीमा निर्माण गर्न लागेको ‘वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना’ निर्माणमा भईरहेको ढिलासुस्तीप्रति कर्णाली बासीले चिन्ता जाहेर गर्दै आइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव गणेशबहादुर गाडीले विना कारण वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको काममा भईरहेको ढिलासुस्तीप्रति आम सरोकारवालाले समेत खबरदारी गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले कर्णालीको समृद्धिसँग जोडिएका आयोजना निर्माणमा विभिन्न बहाना बनाएर आधा, अधुरा छोड्ने प्रवृत्तिको अन्त्य गर्नतर्फ सबै पक्ष जुट्नुपर्नेमा जोड दिनुभयो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सेवा अवधिभर मात्र नभई सेवा निवृत्तपछि उत्पन्न हुने आर्थिक समस्या निराकरणका लागि समेत कर्मचारी सञ्चय कोषले प्याकेजमै कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

उहाँले जागिरे जीवनमा कोषमा सञ्चित पैसाको खासै महत्व नरहे पनि सेवा निवृत्तपछि आउने थुप्रै आर्थिक समस्याहरूको सारथी कर्मचारी सञ्चय कोष बन्ने सके ठूलो उपलब्धि हुने धारण व्यक्त गर्नुभयो ।

कर्मचारी सञ्चय कोष सुर्खेत शाखा प्रमुख ध्रुवप्रसाद तिवारीले सुर्खेतमा मात्रै आफ्ना सञ्चय कर्ता मार्फत विभिन्न शीर्षकबाट पछिल्लो दुई आर्थिक वर्षमा पौने ३ अर्ब रुपैयाँ लगानी गरेको बताउनुभयो ।

उहाँले संस्थागत सुशासनमा ध्यान दिँदै कार्य प्रणालीलाई अझै प्रविधिमैत्री बनाएर सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार योजना, दुर्घटना क्षतिपूर्ति योजना तथा काजकिरिया अनुदान योजनासमेतका सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा कोष सुर्खेत शाखाका उपप्रबन्धक भरतकुमार साउदले वार्षिकोत्सवका अवसरमा कोषका कर्मचारीसँगै कोषमा आवद्ध रहेका व्यक्ति तथा संघ संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button