तपाईँ सुन्दै हुनुहुन्छः

सेवा प्रदायक र नियामक निकाय छुटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुटाउने गरि बनेको विधेयक मन्त्रीपरिषद्मा पेश भइसकेको बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा मन्त्री पाण्डेले उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानिबिन समितिको प्रस्ताव मन्त्रिपरिषद्मा प्रवेश भइसकेको बताउनुभयो।

उहाँले हवाई उड्डयनमा नियामक र सेवा प्रदायक निकायलाई छुटाउने गरि बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगिसकेको बताउनुभयो । साथै उहाँले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तर मन्त्रालय स्तरमा काम भइरहेको जानकारी गराउनुभयो।

उहाँले अहिले प्रस्तावित छानबिन समितिमा यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने जानकारी दिनुभयो । उहाँले अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो।

मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भइसकेको बताउनुभयो । मन्त्री पाण्डेले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको जनाउनुभयो ।

विट सम्बद्ध पत्रकारहरूसँग आवश्यक सूचना प्रदान गर्ने कुरामा कुनै कमजोरी नरहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button