तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय पर्यटक भित्र्याउन सरकारले नीतिगत सुधार गर्ने मुख्यमन्त्री आचार्यको भनाइ 

रुपन्देही । लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरूमा भारतीय पर्यटकहरूको सहज आवागमनका लागि प्रदेश सरकारले सहजीकरण गर्ने भएको छ ।

 भारतीय सवारी साधन सहित लुम्बिनी प्रदेशमा भित्रिने पर्यटकहरूलाई सुरक्षा जाँचको नाममा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको जनगुनासो प्राप्त भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षा अधिकारीहरुसंग यस बारेमा गम्भीर छलफल गर्ने बताउनु भएको हो ।

आईएमई ग्रुप र स्थानीयको लगानीमा सञ्चालनमा रहेको लुम्बिनी केबलकारको अवलोकनका लागि पुग्नुभएका मुख्यमन्त्री आचार्यले देशभित्र र देश बाहिरका पर्यटकहरूको सहज आवागमनको लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।‘नीजि क्षेत्रबाट खोलिएको यो केबलकार लुम्बिनीको पहिलो केबलकार हो ।

यसको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिएको छ । लुम्बिनी आउने पर्यटकलाई बुटवल हुँदै यहाँसम्म ल्याउन मद्दत पुगेको छ’उहाँले भन्नुभयो,‘यसैगरी लुम्बिनी आउने पर्यटकलाई प्रदेशका १२ जिल्लामा भ्रमण गराउनेगरी पर्यटन सर्किटको विकास गर्ने योजना छ ।’ यसैबिच मुख्यमन्त्री आचार्यले प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिरमा पूजा आराधना समेत गर्नु भएको छ ।

पर्यटकहरूको बढ्दो आकर्षण, नीजि क्षेत्र उत्साहित

बुटवलको गर्मी र उम्सो छल्न मानिसहरू दुई हजार ६ सय मिटर लामो केबलकारको यात्रा गरेर पहाडको चुचुरोमा पुग्छन् । चिसो र शान्त वातावरणमा सबै उमेर समूहका मानिस रमाउने गरेका हुन । यसमा पनि छिमेकी देश भारतका पर्यटकहरू आउने क्रम बढेको छ । तर, पर्यटक आउँदा सुरक्षा जाँचको नाममा प्रहरीले दुःख दिने गरेको पर्यटकहरूले गुनासो गर्ने गरेका छन् । भारतीय पर्यटकहरूलाई आउने वातावरण सहज बनाउन सक्दा भ्रमणमा आउनेहरूको सङ्ख्या बढ्ने अप्रेसन म्यानेजर डिएन कायस्थ सैजुले बताउनु भयो ।

‘पर्यटकहरूको यात्रा निर्बाध हुनुपर्छ । सहज आवागमन भएको खण्डमा सङ्ख्या स्वभाविक रुपमा बढ्ने थियो’उहाँले भन्नुभयो,‘लुम्बिनी प्रदेश भित्रका पर्यटकीय स्थलहरूमा आउन जान कुनै असुविधा नहोस् भनेर सरकारले नीति बनाउन जरुरी छ ।’

पर्यटकलाई लक्षित गरेर सहासिक पर्यटनका पूर्वाधारहरू थपिएका छन् । केबलकारमा दुई अर्ब लगानी भएको छ । आर्थिक दृष्टिकोणले बुटवलमा चहलपहल बढाउन केबलकारले भूमिका खेलेको बुझाई नीजि क्षेत्रको छ । कोभिडले गर्दा निरास बनेको नीजि क्षेत्र पछिल्लो समय उत्साहित हुन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button