तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बाढीबाट सयौँ परिवार विस्थापित

कैलाली । लगातारको वर्षापछि आएको बाढीबाट कैलालीमा सयौँ परिवार विस्थापित भएका छन् ।

कैलालीमा रहेका नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको हो । दिउँसो कर्णाली नदीमा बाढीले खतराको तह पार गरेको थियो । कर्णाली नदीमा ११.१५ मिटर पुगेको पानी अहिले वर्षा रोकिएपछि १०.८ मिटरमा झरेको छ ।

नदीमा पानी बढेकाले जोखिम क्षेत्रका नागरिकलाई सर्तक रहन, सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । यहाँको जोखिम क्षेत्रको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले निरीक्षण समेत गर्नुभएको छ ।

बाढीले टीकापुरमा करिब डेढ सय परिवार विस्थापित भएका छन् । वडा नं. ७ सत्ती कर्णाली सामुदायिक वनबाट कर्णाली नदी बस्तीमा पस्दा त्यहाँका ५० घर बढी विस्थापित भएका छन् । वडा नं. ६ मा पथरैया नदी बस्तीमा पसेपछि सय बढी घर डुबानमा परेका छन् ।

कर्णाली नदीमा बाढीको बहाव खतरा तहमा पुगेपछि टीकापुरमा थप जोखिम बढेको छ । वडा नं. ५ को दौलतपुर घाट नजिक कर्णाली नदीले कटान तीव्र पारेकाले वडा नंं ५, ६, ७ र ८ वडा विस्थापित हुने जोखिम बढेको छ ।

नदी कटान नरोकिए बस्ती पुरै सखाप हुने भएकाले टीकापुर नगरपालिका, रानी जमरा कुलरिया सिँचाइ आयोजना, प्रहरी मिलेर अस्थायी तटबन्धको काम भइरहेको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो । बाढीले विस्थापित भएकाहरू केही हुलाकी सडकमा, केही उच्च घरमा बसेका छन् ।

जानकी गाउँपालिकामा पनि बाढीले ६५ परिवार प्रभावित भएका छन् । जानकीमा २८ परिवार विस्थापित भएका छन् । जानकीमा पथरैया र कुलरिया नदीको बाढी बस्तीमा पस्दा नागरिक समस्यामा परेका विपद् व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैसीले जानकारी दिनुभयो ।

उता भजनीमा पथरैया, काढा, कन्द्रा, मोहना नदीको बाढी पसेको छ । भजनीका सबै वडा जलमग्न भएका छन् । बस्तीमा नदी पसेपछि पालिकाले नागरिकलाई सुरक्षित स्थानमा जान सूचना गरेको छ । भजनीमा बस्तीमा बाढी पसेकाले जोखिम बढेको विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिनुभयो ।

लगातारको वर्षापछि कैलालीका कन्द्रा र पथरैया, मोहना नदीले समेत सतर्कता तह पार गरेका छन् । यी नदीमा पानी बढेपछि सबैभन्दा बढी असर भजनीमा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button