तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध राप्ती राजमार्ग खुल्यो

सल्यान । पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण दाङ तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा आएको पहिरोले अवरुद्ध बनेको राजमार्ग सञ्चालनमा आएको हो । 

सडक माथिबाट आएको पहिरो डोजरको सहायताले हटाए पनि दुई तर्फ सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । राम्री लगायत खहरे खोलाले ल्याएको ढुंगामाटो सफा गरेपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको उहाँको भनाई छ । 

राजमार्गको दाङ कपुरकोट खण्ड पहिरोको जोखिममा रहेको छ । उक्त सडकखण्डमा कतिखेर पहिरो आउँछ भन्न नसकिने खत्रीको भनाई छ । वर्षा भई रहेको र पहिरोको जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न उहाँले आग्रह गर्नु भयो । 

यस्तै दाङ सुर्खेत सडक खण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन । उक्त सडकखण्ड अन्तरगत कालीमाटी गाउँपालिका ४ टटालीमा पहिरो जाँदा शुक्रबार बिहान देखि सडक अवरुद्ध भइरहेको छ । सडक खुलाउन प्रयास भइरहेता पनि पहिरो गएको स्थानसम्म डोजर नै पुर्‍याउन समस्या भइरहेको प्रहरीको भनाई छ । वर्षातले खहरे खोलाको बहाव नघट्दा डोजर पहिरो गएको स्थानसम्म पुग्न नसकेको उहाँले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button