तपाईँ सुन्दै हुनुहुन्छः

जनता आवास कार्यक्रम अन्तर्गत छ सय घर निर्माण 

कैलाली  । जनता आवास कार्यक्रमअन्तर्गत छ सय ३२ घर निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा ती घर निर्माण गरेको हो । 

न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि कैलालीमा दुई सय ६६ र कञ्चनपुरमा तीन सय ६६ घर निर्माण गरिएको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकामा ४९, गोदावरी नगरपालिकामा ३८, घोडाघोडी नगरपालिकामा २८ र भजनी नगरपालिकामा २७ घर निर्माण गरिएका छन् ।

यसैगरी बर्दगोरिया गाउँपालिकामा २४, गौरीगङ्गा नगरपालिकामा १२, लम्कीचुहा नगरपालिकामा ३९, जानकी गाउँपालिकामा १९ र टीकापुर नगरपालिकामा ३० घर निर्माण गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिनुभयो । 

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ५६, पुनर्वास नगरपालिकामा ५०, बेलौरी नगरपालिकामा ४३, बेदकोट नगरपालिकामा ५६, भीमदत्त नगरपालिकामा एक सय ११ र महाकाली नगरपालिकामा ५० घर निर्माण गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ सय पाँच घर सङ्घीय सरकारको बजेट र २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माण गरिएका एक सय ११ घरमध्ये २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएको उहाँले बताउनुभयो । 

घर निर्माणका लागि प्रतिपरिवार रु तीन लाख ३६ हजार उपलब्ध गराइएको थियो । उपभोक्ता समिति र लाभग्राहीको न्यूनतम १० प्रतिशत श्रमदानमा घर निर्माण गरिएका इञ्जिनीयर अधिकारीले बताउनुभयो । आव २०७५/७६ देखि आव २०७९/८० को अवधिमा ती घर निर्माण सम्पन्न भएका हुन् । आव २०८०/८१ मा जनता आवासका लागि कैलालीमा रु चार करोड ३३ लाख र कञ्चनपुरमा रु चार करोड ४६ लाख ९४ हजार बजेट विनियोजन गरिएको थियो । जनता आवासकालागि चालु आवमा सङ्घीय सरकारबाट बजेट उपलब्ध नभएको उहाँको भनाइ छ ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button