तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायीकरण र यान्त्रीकरण बाट कृषिमा परिवर्तन: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासको लागि व्यवसायीकरण र यान्त्रीकरण जरुरी रहेको बताउनु भएको छ । बिपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमही स्थित पृथु टेक्निकल कलेजमा शुक्रवार आयोजना गरेको नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनौती विषय बिचार गोष्ठीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यवसायीक कृषिका लागि कार्यक्रमहरू अघि बढाए पनि युवा पुस्ता आकर्षित हुन नसक्नु समस्याको रुपमा रहेको चित्रण गर्नु भयो । यसका लागी राजनीतिक दलहरूले अब स्वदेशमा नै अवसरहरूको सृजना गर्ने गरी नीतिगत भूमिका बढाउनुपर्ने धारणा राख्नु भयो ।‘यहाँ उठेका विषयहरूमा प्रदेश सरकारले काम गरेको छ । तर, युवाहरूले चासो नदिँदा प्रभावकारी हुन सकेन’उहाँले भन्नुभयो–‘मुलुकको विकासको लागि दुई ठूला राजनीतिक दलहरू बिचको सहकार्यले राजनीतिक स्थायित्व दिन्छ । यसबाट युवालाई कृषिमा आकर्षित गर्न सकिन्छ ।’

प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्न नव प्रवर्तनका योजनाहरू अघि बढाएको जानकारी दिनुभयो । कृषिलाई उद्यम र उद्योगको रुपमा विकास गर्न नव प्रवर्तन कार्यक्रमहरू अघि बढाएको जानकारी दिनुभयो । लुम्बिनी प्रदेश कृषि उत्पादनको दृष्टिकोणले प्रचुर सम्भावना रहेको बताउनुहुँदै उहाँले तीन वटा भूगोललाई जोडेर अघि बढ्ने योजना सुनाउनु भयो । बिचार गोष्ठीमा कृषिमा औद्योगीकरण, व्यवसायीकरण र युवाहरूको संलग्नता बढाएर उत्पादन र उत्पादकत्व बढाउन सकिनेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अब राजनीतिक दलहरूले युवालाई स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुपर्ने र सोही अनुसार कार्यक्रम निर्माण गर्ने बताउनु भयो । मुक्तिनाथ कृषि कम्पनी लि लुम्बिनी प्रदेशका प्रमुख निर्मल भुसालले कृषिलाई वैज्ञानिक र सांस्कृतिक रुपमा बुझ्नुपर्ने बताउनु भयो । सरकारले नीति नियम बनाएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सहकारीले बचत तथा ऋण परिचालनमा मात्रै ध्यान दिँदा कृषि क्षेत्र फस्टाउन नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।‘कृषिमा उत्पादन शैली परिवर्तन गर्न नसक्दा बजारमा माग एकथरी छ, उत्पादन अर्को थरी भएको छ’उहाँले भन्नुभयो–‘बजार अनुसार उत्पादन बढाउन जरुरी छ ।’

कृषि क्षेत्रमा लगानी अनुसार पूर्वाधार विकासमा ध्यान दिनुपर्ने, तीन तहका सरकारले कृषिलाई प्राथमिकता दिनुपर्नेछ भूउपयोग नीति निर्माण गरेर जग्गाको चक्लाबन्दि, कृषि पर्यटनको सम्भावनाको विकास गर्न अग्रसर हुनुपर्ने बताउनु भयो ।बजार र माग बिचको असन्तुलन हटाउ सरकारले योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।‘स्थानीय सम्भावना प्रचुर छ । कृषिमा युवा आकर्षण बढाउन जरुरी छ’उहाँले भन्नुभयो–‘कृषिमा संस्थागत मूल्य श्रृङखला बढाउनुपर्छ । एकीकृत नीतिको अभाव छ । यसको परिपूर्ति गर्न जरुरी छ ।’

कृषिको उत्पादन देखि बजारीकरण सम्म संस्थागत संरचनाको विकास गर्न सकिने, जसका लागि संघ सरकारले नीति नियम बनाउने, प्रदेश सरकारले उद्योग स्थापना गर्ने, स्थानीय सरकारले उत्पादन र बजारीकरणमा सहयोग पुर्‍याउने गरि कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभयो । कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि व्यवसाय परामर्श केन्द्र, कृषि बजार केन्द्र स्थापना गरेर कृषिमा आमूल परिवर्तन गर्न सकिनेमा जोड छ । युवा उद्यमशिलाताको विकास गरेर दिगो कृषि चक्रको लागि खाद्य साक्षरता अभियान चलाउनुपर्नेमा ध्यान दिन आग्रह गरिएको छ । महेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अगुवा किसान लगायत बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button