तपाईँ सुन्दै हुनुहुन्छः

भरुवा बन्दुक पड्किदा एकजना घाइते, थप अर्को बन्दुक बरामद

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ किपट भन्ने ठाउँमा भरुवा बन्दुक पड्किएर एक जना घाइते हुनुभएको छ । बुधवार बेलुका ५ बजेको समयमा खेतमा लगाएको मास खान आएको बाँदर धपाउन भनि भरुवा बन्दुक बोकी गएका स्थानीय २३ वर्षीय पासाङ भुजेल चिप्लिएर लड्दा बन्दुक पड्किएर घाइते हुनुभएको हो  ।

बन्दुकको छर्रा शरीरको विभिन्न भागमा लागेर मध्यम घाइते भएका उनलाई उपचारका लागि सुरुमा पुरानो मेडिकल कलेज लगिएको थियो । थप उपचारको लागि उनलाई बुधवार राति ११ः१५ बजेको समयमा चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पड्किएको भरुवा बन्दुक खोजतलास गर्ने क्रममा आज (बिहीबार) दिउँसो ३ बजेको समयमा भरतपुर–२९ बिनीडाँडामा सोही बन्दुक बोकेर हिँडिरहेको अवस्थामा स्थानीय ४४ वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो । साथै, भरतपुर–२९ कै सिरुबारीस्थित झाडीबाट अर्को एउटा भरुवा बन्दुक फेला पारी बरामद गरिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button