तपाईँ सुन्दै हुनुहुन्छः

कृषिमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री अधिकारी

विराटनगर । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषिमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर नजिक रहेको मोरङको कटहरी गाउँपालिका–१ स्थित कृषि बजारमा आजदेखि शुरु भएको कृषि एक्सपो–२०८१ को उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले बैङ्क तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रलाई कृषिमा लगानी गर्ने सहज वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

निजी तथा सहकारीहरूको अपेक्षा अनुरुप लगानी नहुँदा कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणमा सोचेजस्तो लगानी हुन नसकेको उहाँको भनाई छ ।

कृषि क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०८१÷०८२ देखि २०९१÷०९२ को दशकलाई नेपाल सरकारले कृषि लगानी दशक घोषणा गरेको उहाँले बताउनुभयो । मन्त्री अधिकारीले दशक घोषणा गरेसँगै कृषिमा लगानी केही वृद्धि हुँदै गएकाले कृषि क्षेत्रको बजेट पनि बढाउँदै लैजानुपर्ने बताउनुभयो ।

नेपाली बजारमा दूध तथा दुग्धजन्य पदार्थको खपत नहुँदा किसान तथा दुग्ध व्यवसायी मार्कामा परेको भन्नुहुँदै मन्त्री अधिकारीले डिडिसीमार्फत दुग्ध किसानले पाउने दूधको भुक्तानी दशैँ अगावै किसानले पाउने बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण आवश्यक रहेको बताउनुभयो ।

अहिलेको कृषि निर्वाहमुखी मात्र भएको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा निर्यातमुखी तथा औद्योगिक कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले कृषि, पर्यटन तथा जलश्रोत क्षेत्रको विकासका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा निजी क्षेत्रको सहयोगमा कोशी भ्रमण बर्ष तथा इलामा चिया सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण तीनै तहको सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष एवं एक्स–पो आयोजक संस्थाका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले एक्स–पो आयोजना गरिएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, उद्योग वाणिज्य महासङ्घका केन्द्रिय उपाध्यक्ष जोत्साना श्रेष्ठ, सहज परियोजनाकी टिम लिडर रिना श्रेष्ठले, कृषिको बजारीकरणमा आयोजना हुने यस्ता एक्स–पो उपयोगी हुने बताउनुभयो ।

आजदेखि चार दिनसम्म चल्ने सो एक्स–पोको मन्त्री अधिकारी तथा मुख्यमन्त्री कार्कीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

एक्स–पो मा नेपाल र भारतका कृषि तथा औद्योगिक उत्पादनका १ सय ३५ वटा स्टलहरू रहेका छन् ।

एक्स–पोरा नेपाल र भारतका १५ जना कृषि विज्ञहरूले सहभागिता जनाएका छन् । उनीहरूले कृषि उत्पादनका बारेमा किसानहरूसँग छलफल गर्नेछन् ।

उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगर महानगरपालिका तथा कटहरी गाउँपालिका र सहज परियोजनाको सहयोगमा एक्स–पो आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button