तपाईँ सुन्दै हुनुहुन्छः

प्रसाद खाँदा झापामा ५० जना बिरामी

झापा । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको छ । अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

अर्जुनधारा–९ स्थित खरबन्दीमा हिजो स्थानीय रीता निरौलाको घरमा लगाइएको पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी प्रसाद खाएका अधिकांशलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण देखिएको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् ।

बिरामी हुनेमा बालबालिकादेखि लिएर बृद्धबृद्धासम्म रहेका छन् । अधिकांश बिरामीको नगरका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भएको छ । क्लिनिकमा कम्तीमा ३० जनाको उपचार भएको छ । 

यस्तै, बिरामी भएर गाउँमै रहेका ८ जनालाई नगरपालिकाको गाडीले शनिश्चरे अस्पताल उपचारका लागि ल्याएको थियो । अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायत जनप्रतिनिधिले बिरामीलाई भेटेर स्वास्थ्य अवस्था निरीक्षण गर्नुभएको थियो ।

अहिले सबै बिरामी खतरामुक्त रहेको शनिश्चरे नगर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button