तपाईँ सुन्दै हुनुहुन्छः

ग्रामीण अस्पतालमा आधुनिक प्रविधिको शल्यक्रिया

महोत्तरी । भारतीय सीमा नजिकको ग्रामीण बस्तीमा सञ्चालित यहाँको एक अस्पतालले पित्तथैलीको पत्थरी दूरबिन प्रविधिबाट शल्यक्रिया थालेको छ । 

रामगोपालपुर–९ स्थित जानकी एकेडेमी अस्पतालले यो आधुनिक प्रविधिबाट पित्त थैलीको पत्थरी निकाल्ने शल्यक्रिया थालेको हो ।

जिल्लाको सुदूर दक्षिण पश्चिमी ग्रामीण भेगमा सञ्चालित अस्पतालले यो आधुनिक प्रविधिको शल्यक्रिया सफलतापूर्वक गरेपछि अब यस प्रकृतिका बिरामीले आफ्नै गाउँघरमा सेवा पाउने छन् । गत मङ्गलबार अस्पतालका शल्य चिकित्सक द्वय डा अश्विनीकुमार यादव र डा मनिषकुमार ठाकुरले यो प्रविधिबाट एक बिरामीको शल्यक्रिया गर्नुभएको हो । यो सफलतासँगै अस्पतालले अब पित्त थैलीको पत्थरी निकाल्ने शल्यक्रिया यही गरिने घोषणा गरेको छ । 

“अस्पतालमा दक्ष चिकित्सक र आधुनिक प्रविधि दुवै उपलब्ध छन्, अब यस प्रकृतिका बिरामीले उपचारका लागि टाढा जान पर्दैन,” अस्पताल सञ्चालकमध्येका एक डा सुरेन्द्रकुमार यादवले भन्नुभयो । अब पत्थरीको उपचारका लागि जनकपुर, विराटनगर, धरान र काठमाडौँ  तथा भारतका दरभङ्गा र पटना पुग्नुपर्ने बाध्यता हटेको छ ।

जिल्लाको गौशाला, सोमा, औरही र सम्सीसहितका स्थानीय तह अस्पताल वरिपरि छन् । नेपाल–भारत सीमा अस्पतालबाट चार किलोमिटरको दूरीमा छ । यहाँ उपचार सेवा लिन गौशाला, सोमा, औरही, सम्सी र रामगोपालपुरसहितका स्थानीय तहका करिब ४० बस्ती र भारतको सीतामढीका दर्जनाँै बस्तीका बिरामी उहाँ आउने गरेका छन् ।

दूरबिन प्रविधिबाट पित्त थैलीको शल्यक्रिया गरिँदा बिरामीलाई घाउमा सङ्क्रमण नहुने चिकित्सकहरू बताउँछन् । यो प्रविधिबाट शल्यक्रिया गरिएकाहरू छ घण्टामै हिँडडुल गर्नसक्ने र सामान्य दिनचर्यामा फर्कने डा. अश्विनीकुमार यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button