तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा छ सय चार उद्योग बन्द

बागमती।आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०÷८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन् ।

मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०÷८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९÷८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।

आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताउनुभयो ।

मकवानपुरमा आव २०८०÷८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । सो आवमा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ गरी सात सय एक नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताउनुभयो । आव २०७९÷८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग व्यापार दर्ता भएका थिए ।

आव २०८०÷८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, एक हजार एक सय आठ वटा नवीकरण, चार सय ९८ वटाको पुँजी वृद्धि गरिएको थियो ।
सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, आठ सय ५८ वटा उद्योगको पुँजी वृद्धि, एक हजार चार सय २२ वटा उद्योगको नवीकरण भएको छ ।

नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु तीन करोड २२ लाख ४९ हजार नौ सय १० राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button