तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन स्थापनाका लागि सरकार दृढ : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जनकपुरधाममा आयोजना गरिएको भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा सुशासन, विकास र समृद्धिलाई प्रदेश सरकारको उच्च प्राथमिकता राखेर काम गर्न चाहेको बताउनुभयो ।

उहाँले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र नेपाल भएकाले तीनै तहका सरकारले भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले भ्रष्टाचार हुने सम्भावना न्यून गर्न प्रदेश सरकारले जोखिमपूर्ण क्षेत्रको पहिचान गरी सेवाग्राहीको बढी चाप हुने कार्यालय तथा निकायमा सिसिटिभी जडान, सार्वजनिक निकायका लागि विनियोजित बजेट एवम् खर्च तथा प्रगतिको विवरण सार्वजनिक गर्ने परिपाटी विकास, सार्वजनिक पदाधिकारीमा सदाचार, इमानदारी र जिम्मेवारीको भावना विकास गर्न आचारसंहिता निर्माण तथा तीनको कार्यान्वयन गर्नेजस्ता काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले कर्मचारीको हाजिरी तथा कामकाजको छड्के अभियानलाई आफूले केही समययता तीव्रता दिएको भन्दै सरकारी कामकाजमा ढिलासुस्ती गर्ने कर्मचारीमाथि कारबाही गरिने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव राजेन्द्र थापाले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button