तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग मन्त्री भण्डारीसँग चिनिया व्यवसायीहरूको भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग चीनका व्यवसायीहरूले भेट गर्नुभएको छ ।

विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जन बढी व्यवसायीहरूले नेपालमा लगानीको वातावरणका विषयमा मन्त्री भण्डारीसँग अन्तरक्रिया गर्नुभएको हो । अन्तरक्रियाका क्रममा चिनिया व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिनुभयो ।

चिनिया व्यवसायीहरूलाई उद्योग मन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरूमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलताहरू नरहेको बताउनुभयो । चीनमा भइरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेको बताउँदै नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

काभ्रेको पाँचखालमा चीनको लगानीमा उद्योग सञ्चालनको तयारी भइरहेको विषयमा मन्त्री भण्डारीले लगानीकर्तालाई पर्याप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनै पनि समयमा आइपर्ने समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्याहरू नभएकाले उद्योगमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा कम्पनी दर्ता गर्दा निःशुल्क रुपमा अनलाइनबाटै दर्ता प्रक्रिया रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button