तपाईँ सुन्दै हुनुहुन्छः

हुलाकी सडकको काम सुरु गर्न माग गर्दै जनप्रतिनिधि अनशनमा 

नवलपरासी । हुलाकी सडक निर्माणको कामले ६ बर्ष सम्म गति  लिन नसकेपछि निर्माणको काम तत्काल सुचारु गर्नुपर्ने माग सहित जनप्रतिनिधि नै अनशन बसेका छन् । 

हुलाकी सडक निर्देशनालय अन्तर्गत प्रतापपुर गाउँपालिका अन्तर्गतको गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलव ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि निर्माण कम्पनीले  निर्माण सम्पन्न नगरेपछि  अविलम्ब सुरु गर्नु पर्ने माग सहित चरणबद्ध रुपमा  विभिन्न स्वरूपका आन्दोलनका कार्यक्रम सार्वजनिक भएसँगै आज बाट रिले अनसन सुरु गरिएको हो ।

आइतबार गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा जिल्लाका राजनीतिक दल र सरोकारवालाले जिल्ला प्रशासन कार्यालयअगाडि आइतबार १ घण्टा धर्ना दिएका थिए ।

स्थानीयले समेत पटक पटक बिरोध गर्दै आएपनी सम्बन्धित निकायलाई समेत बेवास्ता गरेको  ठेकेदार कम्पनीलाई यतिबेला कुनै निकायले काम गर्न दबाब दिन सकेका छैनन् ।बर्षौ सम्म सडक अलपत्र परेर नागरिकले सास्ती खेप्दा समेत हुलाकी राजमार्ग निर्देशनालय,योजना कार्यालय मुखदर्शक बनेर बसिरहेको आरोप छ ।

अनसन सुरु गरेपछि सम्बन्धित ठेकेदार र हुलाकी आयोजना कपिलवस्तुका इन्जिनियर आएर एक हप्तामै काम सुरु गर्ने लिखित प्रतिबद्धता ब्यक्त गरेपनी काम सुरु नभएसम्म कुनै पनि हालतमा अनसन नतोडिने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयो ।

‘ठेकेदार र आयोजनाका प्रतिनिधि आएर एक हप्तामै काम गर्छौ,अनसन नबस्नुस् भनिएको छ,यस्ता प्रतिबद्धता र आश्वासन हामीले बिगत देखिनै पायौ तर फिल्डमा काम सुरु भएन कागजमा मात्रै सीमित रह्यो’ अध्यक्ष यादवले भन्नुभयो । सेडुल सहित निश्चित समयभित्र काम सक्ने प्रतिबद्धता सहित फिल्डमै काम सुरु नभए सम्म अनशन जारी रहने यादवले बताउनु भयो ।

सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी बज्रगुरु  कामै नगरी बज्र जस्तै बनेर बसेको छ ।पटक पटक स्थानीय तह र यहाँका निकायले झकझक्याएपनी  ठेकेदार कम्पनीलाई यो आन्दोलनले ब्युँझाउने आशमा आम नागरिक रहेका छन् ।

यतिबेला ठेकेदार र हुलाकी सडक योजनाका इन्जिनियर समेत अनशन स्थलमै पुगेर आफ्नो बचाउ गरिरहेका छन् । अनसनमा रहेपनी आम नागरिकको सेवा प्रवाहलाई नरोकिएको अध्यक्ष यादवले बताउनु भयो ।

काम गर्ने वातावरण सुरु नभए भदौ २८ गतेबाट आमरण अनसन बस्ने बताइएको छ ।

गाउँपालिकाले यस अघिनै सडक निर्माणको काम १५ दिन भित्र सुचारु गर्न सरकारलाई पत्राचार गरेको थियो ।सो समयभित्र काम सुरु नभए आन्दोलित हुन बाध्य हुने गाउँपालिकाले जनाउँदै पालिकालाई श्रोत सुनिश्चित गरी जिम्मा दिए ४ महिनामै निर्माण सम्पन्न गर्ने दाबी गरिएको  थियो ।

बर्षातमा पोखरी जस्तो र घाम लाग्दा धुलोले वर्षौँदेखि  नागरिकले सास्ती खेप्दै आइरहेका छन् । अनशनमा गाउँपालिका अध्यक्ष यादव सहित वडा अध्यक्ष एवं स्थानीय र ब्यवसायिहरुको समेत ऐक्यबद्धता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button