तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थारू समुदाय हर्षोल्लासपूर्वक आज श्रीकृष्णजन्माष्टमी पर्व  मनाउँदै

बाँके । बाँकेका थारू समुदाय हर्षोल्लासपूर्वक आज अष्टिम्की (श्रीकृष्णजन्माष्टमी)पर्व मनाइरहेका छन् । थारु समुदायले पृथक् शैलीले अष्टम्की पर्व मनाउने गरेका छन् ।

थारु समुदायका घरमा भगवान् श्रीकृष्णसहित मानव जातीको जन्मदेखि मृत्युसम्मका क्रियाकलाप दर्शाउने चित्र कोरेर पूजा गरेर पर्व मनाइने गरिएको थारु कल्याणकारीनी सभा बाँकेका अध्यक्ष सङ्गीता चौधरीले बताउनु भयो । सो अवसरमा घर–घरमा पूजा गर्नका लागि परापूर्वकालदेखिनै चित्र कोर्नुपर्ने चलन चल्दै आएको चौधरीको भनाई थियो ।

थारु समुदायका घर–घरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव जातीको जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलापको चित्रको माध्यमबाट देखाउने गरिएको चौधरी जानकारी दिनु भयो । महिला पुरुष दुवै जनाले अष्टम्कीका अवसरमा चित्र कोर्ने गरेका छन् ।

विशेष गरी व्रतालु महिलालाई चित्र बनाउनमा बेफुर्सदिला बनेका छन् । सभापति चौधरीले भन्नुभयो, ‘ब्रम्ह मूहर्तमा दर खाएपछि घरमा रहेको बर्ही(बैठक) कोठमा व्रतालु थारु महिलाले आफ्नै हातले कान्हा अर्थात् भगवान् श्रीकृष्णको चित्रसहित अन्य लोक चित्र बनाउने कार्य गर्दै आएका छन्’ उहाँले भन्नुभयो, ‘महिलाले बनाउन नजानेको ठाउँमा पुरुषले गएर चित्र कोर्ने गर्छन् ।’

चित्र बनाउँदा पश्चिम तर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लट्ठी, गँगटा, सर्प, कुकुर, रुखमा सबेका बाँदर गड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, उँट, कुखुरा, मयुर, बिच्छी, वासुकि नागलगायतका जलचर र थलचर प्राणीहरूका चित्र बनाइने गरिन्छ । चित्र बनाउनेबिच भागमा दुलही अन्माउँदा दुलहीलाई लैजाने डोले सहितको डोलीकोसमेत चित्रका माध्यमले देखाउने चलन रहेको चौधरीले जिकिर गर्नु भयो ।

सिलौटामा पिनेको चामल, धानको भुसको प्रयोग गरी डेहरीमा पोतेपछि परम्परागत तरिकाले बाँसको सिन्कामा कपास लगाई रङ्गमा डुवाइचित्र बनाइने गरिने भए पनि हाल बजारमा पाइने रङ्गमा कुचिको प्रयोग गरी चित्र बनाइने गरिएको थारु जानकारहरूको भनाई छ ।

उहाँका अनुसार थारु समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाउने गर्दथे । उहाँका अनुसार चित्रमा लगाइने रङ्गको समेत आ–आफ्नै महत्व रहेको छ ।

कालो रङ्ग शून्यताको प्रतीक, रातो रङ्ग जीवनको उमङ्गता, हरियो रङ्ग धैर्यताको प्रतीक, पहेँलो रङ्ग बुद्धिमत्ताको प्रतीक, खैयर रङ्ग शरीरको संवेगात्मक अवस्थाको प्रतीक र निलो रङ्गलाई परम्परा र मूल्य मान्यताको प्रतिकका रुपमा लिइने गरिन्छ ।

थारु संस्कृतिका जानकारका अनुसार अष्टिमकीको चित्रमा अत्यधिक मात्रामा ज्यामितीय स्वरूपहरूको प्रयोग गरिन्छ । थारु लोक चित्रकारहरूले शिर र रोदनका लागि अण्डाकार शरीरको लागि घनाकार वा त्रिभुजाकार हात र खुट्टाका लागि शङ्कु आकारको प्रयोग गर्दछन् । यी चित्र सरल तरिका आकर्षक रुपमा बनाइने गरिन्छन् ।

अष्टिम्कीको चित्र बनाउने र पूजा सामग्री तयार गर्ने कार्य गरिएपछि महिलाले निरहार बसी भोको पेटमा परम्परागत आभूषण र पहिरनमा सजिएर चामल, फलफूल, दियो, धानको बोट, कागतीको हाँगा र जोडा फल लिई पूजा गर्ने गरेको चौधरीले बताउनु भयो । पूजा गर्दा घरका सबै सदस्य पूजा गर्ने ठाउँमा जम्मा हुने गर्दछन् उहाँले भन्नुभयो, ‘व्रतालु महिला चोखो गरी पकाएको खाना र फलफूल ग्रहण गर्दछन् ।’

अष्टिम्कीको रातभरि जाग्राम बसी घरका सबै जनाले कान्हा (श्रीकृष्ण)को परम्परागत लोक भाखामा गीत गाउने गर्दछन् ।

अष्टिम्कीको दोस्रो दिनको बिहानै पूजा गरी पूजा गरिएको सामग्रीसहित दियो बालेर नदी तलाउमा विषर्जन गरी स्नान गरेर सबै जना घर फर्कने गर्दछन् । घरमा बनाइएका पकवानको केही भाग भगवानलाई अर्पण गरी व्रतालु महिलाले भोजन ग्रहण गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button