तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्रीसमक्ष राससको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । 

मन्त्री गुरुङलाई आज मन्त्रालयमा भेटगरी अध्यक्ष झाले राससले आव २०८०/८१ मा सम्पादन गरेका क्रियाकलाप समेटिएको सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । सो अवसरमा मन्त्री गुरुङले तथ्यसत्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको राससले सम्पादन गरेका कार्यबाट आफू प्रभावित भएको र आगामी दिनमा पनि अझ रचनात्मक कार्य गर्न निर्देशन दिनुभयो । 

रासस मिडियाहरूको पनि मिडिया भएको उल्लेख गर्दै उहाँले सरकार र जनताबीचको पुलका रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यकारी अध्यक्ष झाले मन्त्रालयको सहयोग र समन्वयमा राससले सूचना सम्प्रेषण र भौतिक पूर्वाधार विकासमा पर्याप्त कार्य गर्न सकेको बताउँदै चालु आवमा २४ घण्टे समाचार सेवा र  कम्तीमा दुई मातृभाषामा समाचार बुलेटिन एवं मिडिया सङ्ग्रहालय स्थापना गर्न लागेको जानकारी दिनुभयो । 

त्यस अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समिति सदस्य कृष्ण अधिकारी र प्रशासन प्रमुख शीतलप्रसाद महतो पनि सहभागी हुनुहुन्थ्यो । 

आजै कार्यकारी अध्यक्ष नेतृत्वको राससको टोलीले मन्त्रालयका सचिव राधिका अर्यालसँग पनि भेटगरी उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी लिनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै राससबारेमा अवगत गराएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button