तपाईँ सुन्दै हुनुहुन्छः

‘वैदेशिक रोजगारी’ रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण नियमित हुने

काठमाण्डौं । रेडियो नेपाल र वैदेशिक रोजगार बोर्ड सचिवालयबिच ‘वैदेशिक रोजगारी’ रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ ।

रेडियो नेपाल केन्द्रिय कार्यालय सिंहदरबारमा आज भएको सम्झौता पत्रमा नेपाली भाषासहित विभिन्न ६ वटा भाषामा ‘वैदेशिक रोजगारी’ रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने उल्लेख छ । 

सम्झौता अनुसार रेडियो नेपालको केन्द्रिय प्रसारणमार्फत वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना, गतिविधि, रिपोर्ट, अन्तर्वार्ता र जनआवाज समेटिएको नेपाली भाषामा रेडियो कार्यक्रम  उत्पादन तथा प्रसारण हुनेछ । 

यस्तै रेडियो नेपालले मधेस प्रदेश र लुम्बिनी प्रदेशबाट मैथिली, भोजपुरी, अवधि, मगही र बज्जिका भाषामा पनि कार्यक्रम उत्पादन तथा प्रसारण गर्नेछ । सम्झौता पत्रमा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्री र बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले हस्ताक्षर गर्नुभयो । 

सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमपछि बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले कार्यक्रमले वैदेशिक रोजगारी सम्बन्धी आवश्यक सूचना, सन्देश र जानकारी दिने बताउनुभयो । बोर्डका कार्यकारी निर्देशक उप्रेतीले वैदेशिक रोजगारीमा जानू पूर्व, गएपछि र रोजगारीबाट फर्किएपछि आइपर्ने विभिन्न समस्या समाधानका लागि सूचना र सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले वैदेशिक रोजगारीमा रहेका र जान चाहने श्रमिकले कार्यक्रम मार्फत लाभ लिन सक्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारी सम्बन्धी जानकारी धेरैको चासोको विषय भएको भन्दै कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । 

रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डबिच भएको सम्झौता अनुसार रेडियो नेपालबाट साताको प्रत्येक बिहीबार बिहान ७ बजेको समाचारपछि १५ मिनेट प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button