तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विभिन्न किसिमका जोखिमको आँकलन सहित बीमा सम्बन्धी विषयहरू समेटेर छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउने र आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत बीमा इकाई स्थापना गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले गरिबी न्यूनीकरणका कार्यक्रमलाई बिमासँग आबद्ध गरेर अघि बढाउन र बीमा सचेतना अभिवृद्धिका लागि प्राधिकरणसँग समन्वय गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

उहाँले बीमितले बीमा कम्पनीहरूबाट समयमै दाबी भुक्तानी पाउने सुनिश्चित गर्नका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गर्नुभयो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सचेतना अभिवृद्धि र दायरा विस्तारका लागि प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको बताउनुभयो ।

बीमा दाबी भुक्तानीलाई प्राधिकरणले प्राथमिकता दिँदै आएको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको र त्यसमा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।

अध्यक्ष सिलवालले विद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश गर्नका लागि पहल गर्न आग्रह गर्नुहुँदै कृषि तथा पशुपन्छी बिमामा देखिएका समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सम्बन्धी समग्र विषयका साथै बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका मन्त्री तथा राज्यमन्त्री, प्रदेश मन्त्रालयका सचिव, सहसचिव लगायत कर्मचारी, विभिन्न निकायका प्रतिनिधि, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालयका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button