तपाईँ सुन्दै हुनुहुन्छः

एयर एसियाले भैरहवाबाट उडान गर्ने भएपछि स्थानीयमा उत्साह

भैरहवा । थाई एयर एसियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएपछि रुपन्देहीका स्थानीयहरू उत्साहित भएका छन् । नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएपछि यस क्षेत्रका स्थानीयहरू उत्साहित भएका हुन् । तर, यो उत्साह सँगसँगै स्थानीयहरूमा एउटा कौतुहलता समेत छाएको छ । 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले लामो समय सम्म नियमित उडान हुन नसकेको अवस्थामा अहिले थाई एयर एसियाले हप्ताको ४ वटा उडान गर्ने कुरा बाहिर आउँदा आशा जागेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो,“काठमाडौँ उडान गर्ने सबै अन्तर्राष्ट्रिय विमान कम्पनीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नको लागी नीतिगत तहबाटै पहल गर्नुपर्छ” ।

पर्यटन व्यवसायी सञ्जीव कुमार जोशी थाई एयर एसियाले भैरहवाबाट उडान गर्ने कुरा आएपछि पर्यटन क्षेत्रमा उत्साह सिर्जना भएको बताउनुहुन्छ । जोशीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन जरुरी रहेको बताउँदै नियमित उडानका लागि विगतदेखि प्रभाव पारिरहेको समस्या समाधान गर्दै दिगो रुपमा उडानलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो ।

त्यस्तै नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल्स नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्थीले थाई एयर एसिया विमानको आवागमनले आशा जगाएको भएता पनि यस्को निरन्तरताको लागि स्थानीय सरकार, लगायत सरोकारवाला जागरूक हुनुपर्ने बताउनुभयो । 

२०७९ साल जेठ २ गते देखि २०८१ असार १५ गते सम्ममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान जजीराले १ सय २६ उडान र अवतरण गरेको थियो भने हिमालयन एयरलाइन्सले ३६ पटक उडान र अवतरण गरेको थियो त्यस्तै नेपाल एयरलाइन्स ४२ पटक उडान र अवतरण गरेको थियो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक दिपक बज्राचार्यले   थाई एयर एसियाको विमान हालसम्म सैद्धान्तिक रुपमा आउने भएको तर हाल सम्म औपचारिक रुपमा उडान अवतरणको  लागि कुनै पनि तालिका हात नपरेको जानकारी गराउनुभयो । विमानस्थल  हालसम्म जजिरा, हिमालय र नेपाल एयरलाइन्सले उडान गरेको बताउनुभयो । जजिरा र हिमालय अहिले उडान रोकेको छ भने नेपाल एयरलाइन्सले हप्ताको एकदिन मलेसियाबाट भैरहवा अवतरण मात्र गर्ने गरेको छ ।

थाई एयर एसियाले बैंकक–भैरहवा उडानले लुम्बिनी क्षेत्रको पर्यटनमा ठुलो असर पार्न देखिएको छ । लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटक मध्ये सबैभन्दा धेरै पर्यटक थाइल्याण्ड बाट नै आउने गरेको लुम्बिनी बिकास कोषको तथ्याङ्कले पनि देखाउँछ । तथ्याङ्क अनुसार २०२४ को जनवरी देखि जुलाई सम्म मात्र लुम्बिनी आएका ५३ हजार ८ सय ९१ पर्यटक मध्य सबैभन्दा बढी थाइल्याण्ड बाट १२ हजार ४ सय ४२ जना आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालमा बढी पर्यटक आउने आठौँ मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए । ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्याङ्क छ । थाई एयर एसियाको भैरहवामा हुने सिधा उडानले यस क्षेत्रको पर्यटकीय विकासमा सकारात्मक प्रभाव पार्न देखिन्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button