तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा गत आर्थिक वर्षमा भएका तीन ठुला दुर्घटना 

रुपन्देही । बि सं २०८० साल मङ्सिर ८ गते रुपन्देही जिल्लामा ५० वर्षीय माधवलाल देवकोटा र ४० की यादा क्षेत्री सिद्धार्थ राजमार्गमा बुटवल देखि भैरहवा तर्फ जाने क्रममा मृत्यु भएको थियो  । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा न-१ ड्राइभर टोल चोक स्थित सिद्धार्थ राजमार्गमा बुटवल देखि भैरहवा तर्फ जाँदै गरेको ना ६ ख ८१६१ नं को ट्रकले सोही दिशा तर्फ जाँदै गरेको लु ४९ प २२३० नम्बरको मोटर साइकललाई ठक्कर  दिँदा मोटरसाइकल सवार दुई जनाको मृत्यु भएको थियो ।

यस्तै बि सं २०८० मङ्सिर १६ गतेका दिन रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक नगरपालिका ४ सानो महु बारी स्थित लुम्बिनी काली दहमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । अन्दाजी २३ वर्षीय ईसाद महमद र १७ रुबिना खातुन सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा मृत्यु भएको थियो ।  लुम्बिनी काली दह भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु १ क १७७८ नं को सिद्धार्थ प्रतिभा इङ्लिस हाई स्कुल सुर्यपुराको बसले सोही दिशाबाट जाँदै गरेको लु ३७ प ८४८२ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । 

त्यसैगरी २०८१ साल असार २१ गतेका दिन रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर ३ जानकी नगर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा अर्को भयावह खालको दुर्घटना भएको थियो । बुटवल बाट भैरहवा तर्फ आउँदै गरेको लु २ ख ६८८८ नं को बसले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा उक्त यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा  गुल्मी दरबार गाउँपालिका ६ घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर-२ शंकनगर बस्दै आएका ३० की रुपा खत्री र उनका ३ वर्षका छोरो प्रिन्स खत्री थिए । 

यी तिन घटना रुपन्देहीमा गत आर्थिक वर्षमा भएका ठुला दुर्घटना मध्यका हुन् । रुपन्देही जिल्लामा सडक पूर्वाधारको बिकास सँगै बढ्दो दुर्घटनाको जोखिमले बर्सेनी आम सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ । रुपन्देहीमा हुने अधिकांश सडक दुर्घटनाहरूमा चालकको लापरवाहीनै प्रमुख कारण रहेको देखिन्छ । 

रुपन्देहीमा गत आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटना १ सय ५७ रहेको छ जसमध्ये ७६ जनाको मृत्यु भएको छ भने १ सय ६ जना गम्भीर घाइते, १सय साधारण घाइते  रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क अनुसार १ सय ६२  दुर्घटना भएको छ जस्मा ८२ जनाको मृत्यु भएको छ भने १ सय ८४ जना घाइते छन् । त्यस्तै आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार १ सय ७२ दुर्घटना भएको छ जसमध्ये ९४ जनाको मृत्यु भएको छ भने २ सय ३० घाइते रहेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार १ सय ५१ दुर्घटना भएका छन् जस्मा ८३ जनाको मृत्यु भएको थियो भने १सय ७८ जना घाइते भएका थिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बजी सिंह विष्टले दुर्घटना हुनुको प्रमुख कारण भनेकै मुख्यतया चालकको लापरवाही हुने गरेको बताउनु भयो । विष्टले भन्नुभयो, “अधिकांश दुर्घटनाको कारण चालकको लापरवाही हुन्छ त्यसमा पनि तीव्र गति नै मुख्य कारण देखिएको छ”।  पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले दुर्घटना न्यूनीकरणको लागि मेरो सवारी मेरो लेन नामक अभियानको समेत थालनी गरेको छ भने तीव्र गतिलाई नियन्त्रण गर्नकोलागि राडर गनको समेत प्रयोग गरिएको छ । 

रुपन्देही जिल्लामा हुने सडक दुर्घटनामा सबैभन्दा बढी १६ देखि ४९ वर्षको उमेर समूहमा पर्ने गरेको देखिन्छ ।  यसरी ज्यान गुमाउनेमा सबै भन्दा बढी १६ देखि ४९ वर्षको उमेर समूहलाई आर्थिक तथा सामाजिक रुपमा समेत सक्रिय जनसङ्ख्याको रुपमा लिने गरिन्छ । तर यो उमेर समूहका मानिसको दुर्घटनामा हुने अकालको मृत्युका कारण समेत सामाजिक रुपमा यसले नकारात्मक प्रभाव पर्ने गर्छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button