तपाईँ सुन्दै हुनुहुन्छः

‘जगदिशपुर ताल’ पर्यापर्यटनको लागि महत्त्वपूर्ण गन्तव्य

रुपन्देही । ‘जगदिशपुर ताल’ नामले चिनिने नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल कृर्षि र पर्यटनका लागि मेरुदण्डको रुपमा रहेको छ ।

निर्माणताका कपिलवस्तुको हजारौँ हेक्टर जमिनलाई सिञ्चित गर्ने उद्देश्य रहेको यो ताल पछिल्लो समय पर्यापर्यटनको दृष्टिकोणले विश्वकै महत्त्वपूर्ण गन्तव्यको रुपमा स्थापित भएको छ ।

कपिलबस्तु जिल्लाको प्रमुख नदी बाणगंगाभन्दा दक्षिण पूर्वमा आजभन्दा ६० बर्षअघि एउटा तलाउ थियो जसलाई ‘जखिरा ताल’ भनेर चिनिन्थ्यो । ‘जखिरा ताल’ को वरिपरि बाक्लो जङ्गल र थारुहरूको पातलो बस्ती रहेको थियो । जलचर र चराहरूको बासस्थान रहेको उक्त तलाउमा पहिले पहिले स्थानीय थारुहरू जलचर र चराहरूको शिकार गरेर जीविकोपार्जन गर्ने गर्दथे ।

बि.सं २०२८ सालमा कपिलवस्तुमा कृषिको प्रचुर सम्भावना देखेपछि राजा वीरेन्द्रले उक्त स्थानमा बाणगंगाको पानी ल्याएर जलाशय निर्माण गरि कपिलवस्तुको कृषकहरूलाई सिँचाई सुविधा प्रदान गर्ने योजना अघि बढाउनुभएको थियो । तत्कालीन राजा वीरेन्द्रले सिँचाइको लागि तालको फाटक खोलेर उद्घाटन गरेको तथ्य अहिले पनि देख्न सकिन्छ ।

जगदिशपुर गाउँका पुरानो बासिन्दा मध्यका एक कल्लु थारु अहिले त्यो समयमा राजा वीरेन्द्र जगदिशपुर पुग्दाको स्मरण गर्दै भन्नुहुन्छ, “राजा वीरेन्द्र ताल हेर्न आउनुभयो, त्यसपछि उहाँले त्यहाँको पानी बाध फुटेर गाउँ पस्यो भने के होला भनेर चिन्ता ब्यक्त गर्नुभयो र पछि ताल वरिपरिको सबै हामीलाई अहिलेको जगदिशपुर गाउँमा ल्याएर बसाल्नुभयो ।”

स्थानीयका अनुसार जखिरा ताल भनेर चिनिने यस क्षेत्र जलाशय निर्माण भएपछि नजिकै रहेको एउटा गाउँ जगदीशपुरको नामबाट जगदिशपुर ताल भनेर चिनिन थाल्यो । यस क्षेत्रका पुराना स्थानीय रामप्रसाद चौधरी भन्नुहुन्छ, “जखिरा ताल वरिपरि रहेका बस्ती अधिग्रहणपछि जगदीशपुरमा ल्याएर व्यवस्थापन गरियो जसकारण पछि यस तालको नाम नै जगदिशपुर ताल भनेर बोलाउन थालियो ।

कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं ९ र १० मा पर्ने जगदिशपुर तालले अहिले जिल्लाको विभिन्न पालिकालाई सिँचाइ सुविधा प्रदान गर्ने गरेको छ ।

जिल्लाको कपिलबस्तु नगरपालिका, बाणगंगा नगरपालिकालगायत क्षेत्रको करिब ६ हजार हेक्टरभन्दा बढी कृषियोग्य भूमिमा जगदिशपुर तालको पानी सिँचाइको लागि पुग्ने गरेको छ । यस क्षेत्रमा प्रमुख तीन बाली धान, गहुँ र मकै रोप्ने बेला कृषकहरूले जगदीशपुरबाट सिँचाइ सुविधा पाउने गरेका छन् ।

जगदिशपुर ताल सिँचाइ परियोजनाका गेट अपरेटर विजयकुमार खनाल भन्नुहुन्छ, “४७ लाख ५० घन मिटर पानीको क्षमता रहेको तालको जलाशयको क्षेत्रफल १ सय ५७ हेक्टरमा फैलिएको छ । तालको कुल क्षेत्रफल भने कुल क्षेत्रफले २ सय १७ हेक्टर रहेको छ । जलाशयको गहिराई सुख्खा याममा २ मिटर र बर्खायाममा ७ मिटर गहिराइसम्म हुने गरेको छ ।”

बाणगंगा जल उपभोक्ता सिँचाइ समितिका अध्यक्ष नारायण यादवले जगदिशपुर जलाशयका कारण कृषकहरूले प्रत्येक बाली लगाउने मौसममा पर्याप्त रूपमै पानी पाउने गरेको बताउनुहुन्छ ।

सिँचाइ प्रयोजनको लागि निर्मित जगदिशपुर तालमा क्रमशः जलचर र चराहरूको बाक्लो बासस्थान हुन थाल्यो र पछि जगदिशपुर सिमसार क्षेत्रको रुपमा परिणत हँुदै गयो । जसलाइ सन् २००३ मा सिमसार क्षेत्रको संरक्षण र दिगो विकासको लागि सिमसार क्षेत्रको सुचीमा समावेश गरियो ।

अहिले चराहरूको आरक्षण क्षेत्रको रुपमा रहेका जगदिशपुर ताल चरा, माछा, उभयचर, स्तनधारी, किराहरू र बोटबिरुवाको आश्रय स्थलका साथै लोपोन्मुख चराहरूको बासस्थान पनि हो ।

तालमा पाइने पोषक तत्त्वका कारण तालमा नर्कटको बाक्लो झार पलाउने गर्छ र उक्त झार लोपोन्मुख चराहरू राम्रो बासस्थान हुने गरेको छ । यहाँ रैथाने चराहरू, जाडो याममा आउने चराहरू, घुमन्ते चराहरूलगायत गरि ४५ विभिन्न प्रजातिका चराहरू पाइन्छ । जसमध्ये यहाँ ५ प्रजातिका लोपोन्मुख चरा, १८ प्रजातिका माछा, ६ प्रजातिका स्तनधारी, ९ प्रजातिका उभयचर जनावरहरू पाइन्छ पाइन्छ । तालमा पेकिङ डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानी हाँस, सारस, सुनजुरे, भुँडीफोर, ध्यानी बकुल्ला र सेतो गरुडजस्ता लोपोन्मुख चरा आउने गर्छन् । उहाँ संसारमै दुर्लभ माछा खाने बिरालो (फिसिङ क्याट) पनि पाइन्छ । तालमा साइबेरिया, चीन, मङ्गोलिया, मध्य एसियाका तुर्कमेनिस्तान र कीर्गिस्तानलगायतका देशबाट चरा आउने गरेको स्थानीय जयप्रकाश यादव बताउनुहुन्छ ।

यहाँको मुख्य समस्या चोरी निकासी हो । चोरी निकासीका कारण रैथाने, घुमन्ते र लोपोन्मुख चराहरू तथा जलचरहरू जोखिममा पर्दै गएपछि यहाँ स्थानीयकै सक्रियतामा संरक्षणको काम भइरहेको छ । ताल संरक्षणका लागि गठन भएको जगदिशपुर जलाशय बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङ भन्नुहुन्छ, “सिमसार क्षेत्र घोषणा भएपछि मञ्चले चरा र जलचरको संरक्षण गर्दै आएको र मङ्सिरदेखि फागुनसम्म पाहुना चराहरू बाक्लो मात्रामा आउने गरेकाले यिनीहरूको चोरी निकासी हुन नदिन विभिन्न कामहरू गर्दै आएको छ ।

जगदिशपुर ताल स्थानीयको अपनत्व हुने गरी विभिन्न पर्यटकीय गतिविधि र निर्माणकालको उद्देश्य सिँचाई गर्नतर्फ केन्द्रित भएमा राम्रो हुने अध्यक्ष गुरुङ बताउनुहुन्छ ।

लुम्बिनी र कपिलवस्तुका बौद्धकालिन सम्पदाको नजिकै पर्ने जगदिशपुर ताल पर्यटकीय दृष्टिकोणले एकदमै सम्भावना बोकेको ताल हो । मानवनिर्मित नेपालकै सबैभन्दा ठुलो र एसियाकै दोस्रो ठुलो ताल जगदिशपुर कृषि र वातावरण मात्र नभएर पर्यटनको लागि पनि महत्त्वपूर्ण स्थल हो । लुम्बिनी पुग्ने पर्यटक जगदिशपुर ल्याएर एक दिन पनि भुलाउन सके राज्यलाई राम्रो आम्दानी गर्ने देखिन्छ ।

पर्यटकहरूलाई आकर्षित गर्न विगत दुई तीन वर्षदेखि तालमा डुङ्गा सञ्चालन गरिएको छ । पर्यटकहरू जगदिशपुर पुगेर डुङ्गा चढ्ने र चराहरू अवलोकन गर्ने गर्दछन् । कृर्षि र पर्यटनको दृष्टिकोणले महत्त्वपूर्ण मानिने जगदिशपुर ताललाई स्थानीयको सहभागितामा राज्यले गुरुयोजना बनाएर काम गरे त्यो समृद्धिको द्योतक बन्न सक्ने प्रबल सम्भावना देखिन्छ ।

जगदिशपुर ताल घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटककोको आवास र खानाको लागि नजिकै होम–स्टे र होटलहरु पनि सञ्चालन भएका छन् । तालको प्रद्र्वधनका लागि बस व्यवसायीहरूले बिहानदेखि साँझसम्म नियमित तालिका बनाएर सार्वजनिक यातायातको व्यवस्था गर्नुपर्ने देखिन्छ । तथापि यहाँ छिटपुट रुपमा सदरमुकाम तौलिहवाबाट बिहान र साँझको समयमा जीप छुट्ने गर्दछन् ।

यस्तै पूर्व–पश्चिम राजमार्गको कोइली बनगाई, बुङचीबाट जगदिशपुर तालसम्म पुग्नका लागि पनि जीपहरु फरक–फरक समयमा छुट्ने गर्दछ । तर ती पर्याप्त भने छैनन् । ताल वरिपरि सौन्दर्यीकरण, गार्डेनिङ र पर्यटकको लागि अवलोकन स्थलहरू बनाउनु जरुरी पनि देखिन्छ ।

लुम्बिनी प्रदेश सरकारले पर्यटनको गन्तव्यको रुपमा जगदिशपुर ताललाई सूचिकृत गरेको भएता पनि त्यति प्रभावकारी भएको छैन । तराईको भूगोलमा १५७ हेक्टर क्षेत्रफलमा फैलिएको यति ठूलो ताललाई बढीभन्दा बढी उपयोग गर्नेतर्फ सबैको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button