तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा बिकास बजेट खर्चमा केही सुधार

बाँके । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने बाँकेमा बिकास बजेट खर्चमा केही सुधार आएको छ।

आर्थिक बर्ष २०७८/७९ मा ७५ दशमलव ३७ प्रतिशत पुँजीगत बजेट खर्च भएकोमा अघिल्लो आर्थिक बर्ष २०७९/८० मा थोरै वृद्धि भएर ७७ दशमलव १९ प्रतिशत खर्च भएको थियो । तर गत आर्थिक बर्ष २०८०/८१ मा पुँजीगत बजेटको खर्च बढेर ८६ दशमलव ६४ प्रतिशत पुगेको कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेले जनाएको छ ।

आर्थिक बर्ष २०८०÷८१ मा संघीय सरकारबाट चालु र पुँजीगत गरि कुल १८ अर्ब २४ करोड ७० लाख रुपैयाँ अख्तियारी पाएकोमा कुल ९१ दशमलव ३८ प्रतिशत खर्च भएको थियो। जसमध्ये पुँजीगततर्फ ६ अर्ब १३ करोड २९ लाख १५ हजार ७ सय १६ रुपैयाँ बिनियोजन भएकोमा करिब ८७ प्रतिशत र चालुतर्फ १२ अर्ब ११ करोड ४१ लाख ७६ हजार ७ सय दश रुपैयाँ बिनियोजन भएकोमा करिब ९४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले जानकारी दिनुभयो ।

संघीय कार्यालयको खर्च सन्तोषजनक भएपनि प्रदेश कार्यालयको खर्च भने क्रमशः घट्दै गएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेशतर्फ आर्थिक बर्ष २०७८/७९ मा ७८ दशमलव ०२ प्रतिशत पुँजीगत बजेट खर्च भएकोमा आर्थिक बर्ष २०७९÷८० मा ७४ दशमलव ०८ प्रतिशत बजेट खर्च भएको थियो । यस्तै गत आर्थिक बर्ष २०८०/८१ मा अघिल्लो दुई वर्षको भन्दा पनि कम करिब ६९ प्रतिशत मात्रै बिकास बजेट खर्च भएको छ।

यो बजेट खर्च नहुनुमा एउटा कारण लुम्बिनी प्रदेश सरकारले टिएजरिमा रकम अभाव भएर असार २२ गते पुँजीगत रकम बन्द गर्न परिपत्र जारी गरेपछि ठूलो भुक्तानी हुन बाँकी रहेको कार्यालयले जनाएको छ।

जिल्लामा कुल बिकास बजेटको २१ दशमलव ६९ प्रतिशत खर्च असार महिनामा मात्रै भएको छ। यो बिगत वर्षका तुलनामा केही कम भएपनि असारे विकासको निरन्तरता भने यसबर्ष पनि कायमै रहेको पाइएको छ।

यसले कर्मचारीको सेवा सुविधाका चालु खर्चमा बढी प्राथमिकता दिए पनि बिकास बजेटको ठुलो हिस्सा असारमै खर्च गर्ने असारे बिकास प्रविधिमा सुधार आउन नसकेको देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button