तपाईँ सुन्दै हुनुहुन्छः

रेडक्रसद्वारा दुई थान रबर बोटसहित खोज तथा उद्धार सामाग्री हस्तान्तरण

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले विपद्का समयमा नागरिकको उद्धारका लागि दुई थान रबर बोटसहित खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।

मोरङ कटहरी गाउँपालिकाको गोपाल फनपार्कमा आज एक कार्यक्रमको आयोजना गर्दै रेडक्रसले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रबर बोट लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका अध्यक्ष सुबोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विश्वबन्धु खडकालाई ३० लाख मूल्य बराबरको दुई वटा रबर बोटसहित १२ प्रकारका खोज उद्धार सामाग्री हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष सिंहले मोरङको लोहन्द्रा खोला तथा सिगिंया खोलासँग जोडिएका केराबारी गाउँपालिका देखि जहदा गाउँपालिकाका सम्मका आठ वटा पालिका लगायत विभिन्न पालिका बाढीको चपेटामा पर्ने भएकाले सो समयमा नागरिकको जीवन रक्षा र उद्धारमा सामाग्रीको सही सदुपयोग हुनुपर्ने बताउनुभयो ।

रेडक्रसले विभिन्न पालिकाहरूमा विपद् जोखिम न्युनिकरण, व्यवस्थापन तथा रोकथाम तथा उद्धार सम्बन्धि विभिन्न प्रकारका तालिम तथा सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १, २ र ७ वडामा लोहन्द्रा, सिंघिया र भारतको नदीबाट बाढी आउने हुनाले त्यसका लागि रबरबोट उपयोगी हुने बताउनुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले विपद् प्रतिकार्य योजना प्रभावकारी बनाउन नयाँ प्रविधि आवश्यक रहेको बताउनुभयो ।

रेडक्रस सोसाइटीका मोरङ शाखाका मन्त्री सुगदेव मण्डल, शाखा उपसभापति मन्दिरा गुरागाईँ तथा रेडक्रस शाखाका अधिकृत संजय कामतले विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउन विभिन्न पालिकाहरूलाई रेडक्रसले उद्धारलगायत विभिन्न प्रकारका सामाग्री उपलब्ध गराउँदै आएको बताउनुभयो ।

सोही अवसरमा सशस्त्र प्रहरी तथा पालिकाका कर्मचारीहरूलाई रबर बोट सञ्चालन सम्बन्धी तालिम तथा अभ्यास गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button