तपाईँ सुन्दै हुनुहुन्छः

समाज रूपान्तरणमा पुष्पलालको योगदान अतुलनीय छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

पुष्पलाल स्मारक समिति विराटनगरले आज आयोजना गरेको पुष्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र सङ्घर्षको कारण नेपालमा राजनीतिक परिवर्तन भएको बताउनुभयो ।

नेकपा एमाले नेपाल कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको र एमालेले नै कम्युनिष्टहरुलाई एकता गरेर लाने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

वामपन्थी पार्टी र प्रजातान्त्रिक पार्टी मिलेर निरङ्कुशता ढाल्नुपर्छ भन्ने विचार पुष्पलालको भएको र सोही जगमा २०३६ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेको चर्चा गर्दै उहाँले यसैको बलमा २०४६ सालमा आन्दोलन सफल भएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले अहिले काँग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज भएको बताउँदै परिवर्तनका लागि वामपन्थी र प्रजातान्त्रिक दल मिल्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो । यो सहकार्यले संविधानलाई अझ परिष्कृत पार्दै राजनीतिलाई सङ्लो बनाउन सहयोग गर्ने उहाँको धारणा छ ।

कार्यक्रममा १०१ वर्षीय वामपन्थी कार्यकर्ता नरबहादुर लिम्बुलाई १० हजार नगदसहित सम्मान गरिएको थियो । यसैगरी पुष्पलाल स्मारक समितिले आयोजना गरेको खुला कविता प्रतियोगिताका विजेताहरूलाई समेत पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुने मोरङकी कवि लक्ष्मी रायमाझी, द्धितिय हुने नुवाकोटका सुजन डोटेल तृतीय हुने विराटनगरकी रीता पाठक तथा सान्त्वना पुरस्कार प्राप्त गर्नेहरू सुनसरीका युवराज दाहाल र विराटनगरकी लक्ष्मी घिमिरे रेग्मीलाई पुरस्कार वितरण गरिएको हो ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कविहरूले क्रमशः पाँच, तीन, दुई र एक÷एक हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button