तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा

बाँके । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ । महाराको राजीनामापछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उहाँले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको हो ।

कामचलाउ भएर एक छिन पनि बस्न नसक्ने बताउँदै उहाँले कांग्रेस–एमालेलाई नयाँ सरकार छिटो बनाउन आह्वान गर्नुभएको छ।

महराको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिनुभयो । यसअघि कांग्रेस र एमालेबीच मुख्यमन्त्री को बन्ने भन्ने टुङ्गो लागेको थिएन ।

महराले राजीनामा दिएपछि प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनका लागि आह्वान गरेमा गिरीले आज नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने एमाले प्रमुख सचेतक चौधरीले बताउनुभयो।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।

मुख्यमन्त्री महराले सम्बोधनको क्रममा आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै सभामुख, मन्त्रिपरिषद् सदस्य, सांसद, कर्मचारीप्रति आभार प्रकट गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button